मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु, वितरणमा हतार गरेको आरोप

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन ।

    बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छ । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण सुरु भएको छ ।

    मुआब्जा समितिका संयोजक समेत रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैंक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७२० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए ।

    घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करिब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले चार करोड ७२ लाख ७२१ मुआब्जा रकम वितरण गरिएको जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घ्याल्चोकको १९५२४ वर्गमिटर जग्गा र दर्बुङको १८,७५१.८३ वर्गमिटर जग्गाको मुआब्जा वितरण गरिएको हो । बिहीबार मुआब्जा पाएका प्रभावितले थोरैमा एक लाख र धेरैमा ८० लाखसम्म पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोज्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो । अहिलेसम्म ९६ जनाको शून्य मौज्दातमा खाता खोलिएको छ ।

    घ्याल्चोकको सिउरेनीटारमा रहेको आयोजना विकास समितिको कार्यालयमा मुआब्जा लिने प्रयोजनका लागि निवेदन लिने काम भइरहेको छ ।

    आयोजनाको विद्युत् गृह बन्ने स्थान अर्थात् तल्लो क्षेत्रका गाविसबाट डुबान पर्ने जग्गाको मुआब्जा वितरण सुरु गरिएको हो । सरकारले मुआब्जा वितरणका लागि दुई अर्ब ५० करोड निकासा गरिदिएपछि मुआब्जा वितरणले गति लिएको हो ।

    गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा तोक्न बाँकी छ । गोरखा र धादिङका अन्य क्षेत्रको भने यसअघि नै मुआब्जा रकम तोकिएको थियो । प्रतिरोपनी पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने गरी मुआब्जा तोकिएको भए पनि प्रभावित क्षेत्रका बासिन्दाले उचित मुआब्जा नदिएको भन्दै गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकन गर्न निवेदन दिएपछि त्यसउपर सुनुवाइ भएको छैन ।

    बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका अध्यक्ष तथा प्रभावित क्षेत्रका बासिन्दा हरेराम ढकालले मुआब्जा पुनरावलोकनको माग सुनुवाइ नहुँदै मुआब्जा समितिले मुआब्जा वितरणमा हतार गरेको आरोप लगाए । जग्गाको मुआब्जा दिएर मात्रै नपुग्ने भन्दै ढकालले घर, गोठ, रुख, फलफूललगायतको पनि उचित मुआब्जा दिनुपर्ने प्रभावित क्षेत्रका बासिन्दाको माग रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij