प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३

घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा शुक्रबार राती आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिएका छन् । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् ।
उनको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
पार्किङ गरेको बसमा कसरी आगो लाग्न पुग्यो र मृतक को हुन् भन्ने सवालमा अनुसन्धान सुरु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
मृतकको शव स्वस्थ्य परीक्षणका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । आगो लागेको बस भने घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij