प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३
३ वर्षअघि महेन्द्रनगरबाट युथ–१९ प्रतियोगितामा सहभागी हुन काठमाडौं आउँदा दीपेन्द्रसिंह ऐरीको परिचय एउटा समान्य खेलाडीको थियो। उनलाई त्यतिबेला लागेको पनि थिएन, आफू युथ–१९ राष्ट्रिय टोलीको सदस्य बन्छु भन्ने।
उनको ब्याटिङ ठीकै थियो। मध्यक्रममा हल्का बल घुमाउँथे। आखिर उनको उमेर कति नै थियो र, त्यतिबेला! १५ वर्ष पनि काटेका थिएनन्।
तर, यति फुच्चे उमेरमा पनि उनको एउटा विशेषता थियो, आक्रामक क्षेत्ररक्षण गर्थे। एक प्रकारले भन्नु पर्दा– जबरदस्त फिल्डर।
राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले दीपेन्द्रलाई १४ वर्ष १० महिनाको उमेरमा युथ–१९ टिममा स्थान दिनुमा धेरै हदसम्म उनको आक्रामक फिल्डिङ नै कारण थियो।
जगतको सोच थियो– मध्यक्रममा दीपेन्द्रले २०–२५ रन मजाले बनाइ हाल्छन्! फिल्डिङबाट पनि उनी २०–२५ रन रोक्न पोख्त छन्। त्यसैले टिममा उनको योगदान ५० रनको हाराहारीमा हुन सक्छ।
प्रशिक्षक टमाटाको यही लोभ र भरोसाका कारण सन् २०१४ मा युथ टिममा समावेश भएका दीपेन्द्रले तीन वर्षको छोटो अवधिमै नेपाली क्रिकेटको स्टार खेलाडी बन्ने झझल्को दिएका छन्।
उनले आज केन्याविरूद्ध आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा ब्याटिङमा जुन ‘क्लास’ देखाए, यसले उनी नेपाली समर्थकको प्रिय बन्ने कुरामा शंका छैन्। केन्याको तीब्र ‘पेस अट्याक’ लाई निस्तेज पार्दै दीपेन्द्रले ६६ बलमा १ छक्का र ८ चौकाको सहयोगले ६२ रन बनाए।
जतिबेला नेपाल १४ रनको अवस्थामा २ विकेट गुमाएर कठिन मोडमा थियो। उनले आफूभन्दा निकै अनुभवी कप्तान ज्ञानेन्द्र मल्ललाई क्रिजमा ठूलो आड र विश्वास दिलाए। यी दुवै मिलेर तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गरेका थिए।
सन् २०१४ को नोभेम्बरमा कुवेतमा भएको एसिसी युथ–१९ प्रिमियर लिगबाट जुनियर क्रिकेटमा ‘डेब्यू’ गरेका दीपेन्द्रले यही प्रतियोगितामा आफ्नो सपना ठूलो भएको जनाउ दिसकेका थिए। त्यतिबेला उनलाई आठ नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो। ब्याट्सम्यानका लागि प्रतिकूल मानिने यस्तो अवस्थामा पनि उनले पुरै प्रतियोगितामा ५७ को औसतले १ सय १४ रन बनाउँदै आफूमा फिल्डिङ मात्र होइन, ब्याटिङको पनि अपार सम्भावना भएको पुष्टी गरे। उनले त्यतिबेला कुवेतविरूद्ध आठ नम्बरमा ब्याटिङ गर्दै २० बलमा बनाएको ४८ रन अहिले पनि सायदै कसैले भूलेको होलान्!
४ छक्का र २ चौकाको सहयोगले करिब अर्धसतकको नजिक पुगेका दीपेन्द्र त्यतिबेला दूर्भाग्यवस रनआउट हुन पुगेका थिए।
उनको यो इनिङले प्रशिक्षक टमाटाको मन पुरै जितेको थियो।
त्यसैले उनलाई सन् २०१५ मा मलेसियामा भएको यही प्रतियोगितको अर्को संस्करणमा छैठौं नम्बरमा व्याटिङ गर्न पठाइएको थियो। यतिबेला पनि उनी प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन (३ इनिङमा १ सय १५) बनाउने व्याट्सम्यान बन्न पुगे। उनले कुवेतविरूद्ध नै समूह चरणको महत्वपूर्ण खेलमा ३४ रनमा ५ विकेट गुमाइसकेको अवस्थामा नेपाली टोलीको उद्दार गरे। उनले त्यतिबेला २ छक्का र १ चौकाको सहयोगले ८५ रन बनाएका थिए।
उनको दिनहुँ जस्तो परिस्कृत हुँदै गइरहेको खेललाई बुझेर प्रशिक्षक टमाटाले युथ टोलीमा थुप्रै स्टार खेलाडीको जमघट हुँदा हुँदै सन् २०१६ को युथ–१९ विश्व कप र एसिया कपमा १६ वर्षका दीपेन्द्र माथि जुवा खेलेका थिए।
सन् २००० को विश्वकप पछि पहिलो पल्ट सुपर–८ मा प्रवेश गरेको विश्वकपमा दीपेन्द्रले ब्याटिङबाट खासै प्रभाव जमाउन सकेनन्। तर, उनले ७ विकेट लिँदै बलिङबाट केही प्रभाव देखाए, जुन उनको अलराउन्डर बन्ने संकेत पनि थियो।
तर, युथ विश्वकपमा ब्याटिङमा ‘फ्लप’ भएका दीपेन्द्रले एसिया कपमा भने श्रीलंकाविरूद्ध सनसनीखेज व्याटिङ गरे। टेस्ट राष्ट्र श्रीलंकाको युवा टोलीविरूद्ध पाँचौ नम्बरमा व्याटिङ गर्ने क्रममा उनले १ छक्का र ९ चौकाको सहयोगले ९० रन बनाउँदै राष्ट्रिय टोलीमा आफू आउन लालायित रहेको आभाष दिलाए। उनले यही प्रतियोगितामा भारतजस्तो सशक्त टिमविरूद्ध पनि ३४ रन ठोके।
दीपेन्द्रको यही प्रतियोगिताको उत्कृष्ट प्रदर्शनका कारण छनोट समितिले केन्याविरूद्ध उनलाई मैदानमा उतार्ने निर्णय गरेको थियो।
केन्याविरूद्धको खेल दीपेन्द्रका लागि किन पनि यादगार बन्यो भने, उनी कप्तान पारस खड्काको ठाउँमा ब्याटिङ गर्न २ नम्बरमा क्रिजमा उत्रिए। युथ टिममा आठौं नम्बरदेखि ब्याटिङको सिलसिलालाई जोड्दै दीपेन्द्र पाँचौ नम्बरमा ब्याटिङ गर्न आइपुगेका थिए।
यस्तो अवस्थामा दीपेन्द्रलाई राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्दा नेपालका सबैभन्दा सफल कप्तान र आटिँला ब्याट्सम्यानको स्थानमा ब्याटिङ गर्न उतार्नु उनको लागि कम गौरवको कुरा थिएन। तर, उनले टिम नेतृत्वले आफूमाथि देखाएको विश्वासलाई टुट्न दिएनन्।
नेपालले ५ विकेटले हारेको केन्याविरूद्धको पहिलो खेलमा पनि उनले प्रतिकूल परिस्थितिमा १९ रन बनाएका थिए।
‘राष्ट्रिय टोलीमा उसको ठूलो भविष्य छ,’ प्रशिक्षक टमाटा भन्छन्। दीपेन्द्रको सबैभन्दा ठूलो विशेषता आँखा र हातबीचको समन्वय हो। जुन बेजोड मानिन्छ। कुन बललाई कतिबेला प्रहार गर्ने ‘सर्ट सेलेक्सन’ मा पनि उनको सुझबुझ राम्रो देखिन्छ।
उनी हालको राष्ट्रिय टोलीका उत्कृष्ट ‘क्लोज फिल्डर’ हुन्। प्वाइन्ट र कभर क्षेत्रमा उनको निपूर्णता केन्याविरूद्धको खेलले पनि उजागर गरिसकेको छ।
त्यसैले अहिले राष्ट्रिय टोलीका अन्य सदस्य मात्र होइन, पुरै क्रिकेट प्रेमी दंग छन्– नेपालको अर्को प्रतिभाशाली ब्याट्सम्यानको उदय हुँदै गरेको कीर्तिपुरस्थित त्रिवी मैदानमा आज देखेर।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij