प्रकाशित मिति : मङ्लबार, चैत्र १, २०७३
धनकुटा । जिल्लाका दुई नगरपालिकामा हात्तीपाइले रोगको सङ्क्रमण देखापरेको भन्दै छ वर्ष खुवाउने औषधि अवधि पूरा भएपनि एक वर्ष थप हुने भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले पत्रकारसम्मेलन गरी सोमबार जनाएको छ ।
जिल्लाका तीन नगरपालिकासहित चार गाउँपालिकामा यही चैत ५, ६ र ७ गते अन्तिम चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भनिएपनि पुनः एक वर्ष थप गर्नुपर्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए ।
धनकुटामा विगत ५ वर्षदेखि यो औषधि वितरण कार्यक्रम हुँदै आएको छ । यस वर्ष धनकुटामा एक लाख ४६ हजार तीनसयलाई औषधि वितरण गर्न चारसय ८० केन्द्र तोकिएको छ ।
जिल्लामा ७५ हजार तीनसय ५६ महिला र ७० हजार नौसय ४५ पुरुषलाई यो वर्ष यो औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हात्तीपाइले रोगविरुद्ध औषधि वितरणका लागि नौसय ३० स्वयम्सेवक र दुईसय स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ । हात्तीपाइले रोगले मानिसलाई शारीरिकरुपमा अशक्त, अपाङ्ग बनाउने तथा सरुवा रोग भएकाले यसलाइ नियन्त्रण गर्न औषधि खुवाइने जिल्ला स्वास्थ्य प्रमुख डा उपाध्यायले बताए ।
सामान्यतः अन्य रोग जस्तै ज्वरो आउनु, शरीरमा कम्पन हुनु, हातगोडामा नीलो–कालो धर्सा देखिनु, हातखुट्टा सुन्निएर ठूलो हुनु आदि लक्षण देखिएमा यो रोग लागेको हुनसक्ने कार्यालयले जनाएको छ ।
लामखुट्टेले सार्ने यो रोग भौगोलिक दृष्टिकोणले तराईका जिल्लामा बढी हुने भएपनि धनकुटामा अपेक्षाकृतरुपमा बढी देखिएको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा हात्तीपाइले रोग प्रभावित ६१ जिल्लामा औषधि वितरण कार्यक्रम सञ्चालनमा आएको र यस वर्ष धनकुटामा छैटौँ चरण समापनको कार्यक्रम रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij