प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३

कालीगण्डकी वारपार गराउने सिपालु बोटे समुदायका मानिस कालीगण्डकीको रिडी, रानीघाट, केलादीघाटलगायतका घाटमा डुङ्गा चलाएको अहिले देख्न पाइँदैन, त्यस्ता नदी तथा खोलामा झोलुङ्गे तथा पक्की पुल निर्माणसँगै उनीहरुको पेसा सङ्कटमा परेको हो ।
पाल्पा रामपुर नगरपालिकास्थित केलादीघाटमा बोटे समुदायको ठुलो बस्ती रहे पनि माछा मार्ने र डुङ्गा चलाउने काम गर्दैनन्, केलादीघाट क्षेत्र पुल बनेसँगै डुङ्गा चलाउन छाड्नुपर्ने बाध्यता आएको राम बोटे बताउँछन् । साठी घरपरिवार बोटेबस्ती भए पनि अहिले अधिकांश युवा विदेश, खेतीपाती र मजदुरीबाट नै जीविकोपार्जन गर्न बाध्य छन् ।
स्थानीय बासिन्दा सूर्यप्रकाश पोखरेलले नदीमाथि पुल बन्नुभन्दा अघि डुङ्गा चढ्न एक हप्तासम्म कुर्नुपर्ने र पाँच पैसादेखि पाँच रुपैयाँसम्म तिरेको सुनाए । खासगरी पहिला पैसाभन्दा पनि अन्नबालीमा सेवा लिन पाइने चलन रहे पनि पछि डुङ्गा चढेपछि पैसा तिर्नुपर्ने व्यवस्था आएपछि दुवै पक्षलाई सहजता आएको पोखरेल बताउँछन् ।
डुङ्गा चलाउँदा अन्नबाली मुरीका मुरी सङ्कलन हुँदा उनीहरुले खेतीपाती गर्न पर्दैनथ्यो, तर अहिले खेतपाती तथा मजदुरीमा महिला अग्रसर भएर लागेका छन् । बोटे समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक रुपमा विपन्नको सङ्ख्या बढी छ । रामपुर नगरपालिका, रम्भागाउँपालिका, बगनासकाली र तानसेन नगरपालिकासँग कालीगण्डकी नदीको सिमाना हुँदै बग्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij