प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३
बार्सिलोनाका खेलकुद विभाग निर्देशक रोबर्ट फार्नान्डेजले क्लब समर्थकलाई आश्वस्त पार्न धेरै छिटो क्लबका स्टार स्ट्राइकर लिओनल मेसीकोे अनुबन्ध नविकरण हुने जानकारी दिएका छन्।
फर्नान्डेजले स्थानीय पत्रिका काडेना सेरलाई अन्तर्वार्ता दिने क्रममा मेसीसँगै कप्तान आन्द्रेस इनिस्टाको पनि अनुबन्ध छिटै क्लबले नवीकरण गर्ने बताए।
बार्सिलोनाका यी दुवै हस्तीको अनुबन्ध आउँदो वर्षको अन्त्यमा समाप्त हुँदैछ। उनले मेसीको अनुबन्ध नवीकरणमा केही ढिलाई भएको स्विकार गरेपनि कुराहरु विस्तारै सकारात्मक मोडतर्फ जान थालेको बताएका छन्।
क्लब यो सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि दौडमा धेरै ठाउँमा लड्खडाएको अवस्थामा देखिएको थियो। यसको कारण खेलाडीबीच अनिश्चित भविष्यलाई लिएर एकाग्रता नदेखिएको भनाई धेरैको छ।
यस विषयमा फर्नान्डेजले फेरि आफ्नो धारणा राख्दै मेसीको अनुबन्ध नवीकरणमा आश्वस्त रहन आग्रह गरे। ‘ (मेसी) को नवीकरण हुनेछ, जुन म पहिलेदेखि भन्दै आइरहेको छु,’ फार्नान्डेजले भने–‘उनी बार्सिलोनामा खुसी छन, उनी टिमसँग सहज महसुस गरिरहेका छन र क्लबको वातावरण पनि ठिक छ।’
उनले यसबाहेक बाहिर चलिरहेको हल्लाको विषयमा कुनै प्रतिक्रिया नदिने बताए। फर्नान्डेजले इनिस्टाको नवीकरण पनि मेसीसँगै हुने बताएका छन्।
दुवै खेलाडीले आफ्नो खेल जीवन नै क्याम्प नोउमा बिताएका छन्। इनिस्टा २००२ देखि क्लबमा आवद्ध छन भने यसको दुई वर्षपछि मेसी सिनियर टोलीमा आवद्ध भएका थिए।
केही समयअघि इनिस्टा ठूलो धनराशीमा चिनियाँ क्लबमा आवद्ध हुने बताइएको थियो। यस्तै, मेसीले पनि क्लब छोड्ने हल्ला चलिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij