प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३
काठमाडौं । नेपाल टेलिकमले हाल प्रचलनमा रहेको एडीएसएल इन्टरनेट थप सेवालाई प्रभावकारी बनाउने बताएको छ । टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले एडीएसल इन्टरनेटमा अब वाइम्याक्स र सीडीएमएकै जस्तो योजना ल्याउन लागेको जानकारी दिइन् ।
सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले टेलिकमले पुरानो प्रविधिमा आधारित सेवालाई विस्तारै नयाँमा रूपान्तरण गर्दै जाने योजना बताएको सुनाउँदै भनिन्, ‘ टेलिकमले एडीएसएलको साटो फाइबर टु दि होम सेवालाई विस्तार गर्ने योजना अघि बढाइसकेको छ ।’
तामाको तारबाट दिइने एडीएसल सेवाको साटो फाइबरबाट दिइने सेवाको गुणस्तर राम्रो हुने भएकाले यो प्रविधि अपनाउन लागेको उनको भनाई छ ।
यस्तै टेलिकमले ताररहित उच्च गतिको इन्टरनेट सेवा वाइम्याक्समा थप लगानी नगर्ने जनाएको छ ।
टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले अहिलेका चालु योजना मात्र अघि जानकारी दिँदै वाइम्याक्स र सीडीएमए सेवाका लागि लिइएको फ्रिक्वेन्सी अब फोरजी सेवाका लागि प्रयोग गरिने जानकारी दिए ।
कम्पनीले वाइम्याक्सका लागि थप उपकरण खरिद नगर्ने भए पनि हाल विस्तारका क्रममा रहेको क्षेत्रमा भने योजना जारी रहने टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij