आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसकारण बदलिरहेछ मौषम

  • प्रकाशित मिति : सोमवार, चैत्र १४, २०७३



  • काठमाडौँ । सामान्यतः मार्च (फागुन ÷चैत) महिना मेघ गर्जनसहित वर्षात् हुने मौसम हो तर, अघिल्ला वर्षको तुलनामा यो महिनामा बढी नै वर्षात् भएको छ । वर्षात् मात्र हैन, लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ ।

    महिनाको उत्तरार्धमा साताभन्दा बढी समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षात् पनि भएको छ, तर यसको प्रभाव पश्चिमी भेगमा त्यति छैन, खासगरी देशका पूर्वी र मध्य भेगमा बढी असर देखिएको छ, मौसमविद्को भाषामा यसलाई फरक किसिमले तुलना गरिएको छ ।

    वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ भन्छन्– ‘मार्च महिना बढी पानी पर्ने समय हो तर यस किसिमको निरन्तर प्रभाव अघिल्ला वर्षमा थिएन, काठमाडौँ उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने झन्डै दोब्बर २०० प्रतिशत बढी वर्षात् भएको छ, सामान्यत मार्चमा उपत्यकामा ३५ प्रतिशत वर्षात हुन्छ, अहिले ६५ मिलिमिटर वर्षात् भइसकेको छ, यो अझै केही दिन लम्बिने देखिन्छ ।’

    पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बद्लीसँगै वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले बताए ।

    पश्चिम बङ्गाल र बङ्गलादेशमा न्यूनचापीय क्षेत्र रहिरहेका कारण त्यसको असर नेपालमा देखिएको छ । उक्त प्रणालीका कारण मेघ गर्जनसहितको वर्षात र असिना वर्षाएको छ । अर्कोतर्फ जमिनको तल्लो सतहमा बङ्गालको खाडीबाट सामान्य खालको हल्का जलवाष्पयुक्त हावाको प्रवेशका कारण पनि मौसममा गडबडी आएको छ ।

    जलवाष्पयुक्त हावा वायुमण्डलमा माथिसम्म जान नसकेका कारण दिन धुम्म हुने र राम्रोसँग वर्षात् गराउन नसकेको मौसमविद् अर्यालले बताए ।

    ‘पश्चिमी वायुका साथै पूर्व र मध्य भेगको जमिनको तल्लो सतहमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रवेशले असर देखिएको छ, तर यसको वायुमण्डलमा माथिसम्म प्रभाव छैन, जसका कारण पानी पर्न सकिरहेको छैन’– उनले भने ।

    यो प्रणालीले मध्य र पूर्वी भेगमा असर गरेपनि पश्चिमी भेगमा खासै बद्ली हुने देखिँदैन । पूर्वी भागको तल्लो सतहमा सामान्य खालको न्यूनचापीय क्षेत्रको विकासले गर्दा बद्ली गराएको मौसमविद् अर्यालको भनाइ छ ।

    उनका अनुसार पूर्वी र मध्य भेगमा अझै दुई÷चार दिन बद्लीसँगै वर्षात् हुनेछ । ती क्षेत्रमा मध्याह्नपछि यसको प्रभाव बढी देखिनेछ भने पश्चिमी पहाडी भेगमा सामान्य बद्ली रहनेछ । हुनत, अहिले प्रि–मनसुन पनि चलिरहेको छ, मार्च, अप्रिल र मे महिनामा प्रि–मनसुन पर्छ, जुन महिनाको पहिलो साताबाट मनसुन सुरु हुन्छ ।

    मौसमविद् श्रेष्ठले लामोसमयदेखि विकास भएको यो प्रणाली मध्य र पूर्वी भेगमा अझै दोहोरिने र यसले मेघ गर्जनसहित असिना पानी र हावाहुरी आउने सम्भावना रहेको बताए । नेपालको पूर्वतिर सर्दै समाप्त हुनुपर्ने प्रणाली मध्य र पूर्वी भेगमा अडिएको छ, यसको असर बङगलादेशमा पनि बढी छ ।

    ‘पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र रहिरहेकाले यो प्रणाली लम्बिने देखिन्छ, यो सुक्खा मौसम हो, मनसुन सुरु भएपछि मात्र पानी पर्नुपर्ने हो, त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिन चाँही अनुसन्धान नभई भन्न सकिन्न, नेपालको पूर्वी तथा मध्य भागमा अलि बढी पानी परेको देखिन्छ’– वरिष्ठ मौसमविद् श्रेष्ठले बताए ।

    मौसममा आइरहेको फेरबदलले मानव स्वास्थ्यमा समेत असर पर्नसक्ने आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ डिग्री र न्यूनतम १५ डिग्री सेल्सियस रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij