आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुग्लिन–नारायणगढ सडक: यात्रुलाई सधैं सास्ती

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २२, २०७३



  • चितवन । गोरखा नगरपालिका ७ बतासेकी मनिता बस्नेतलाई सोमबार भरतपुरमा बस्ने भाइको बिहेको टीकाटालो गर्ने समारोहमा नपुगी नहुने थियो । मुग्लिन–नारायणगढ सडक बिहान १० देखि चार बजेसम्म मात्र खुला हुने भएकाले उनी १० नबज्दै मुग्लिन कटेकी थिइन् तर दुर्घटनाका कारण दिनभर सडकमै रल्लेर बस्नुपर्‍यो । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ।

    मुग्लिनबाट झन्डै १५ किलोमिटर परको उक्त सडकमा उनीजस्ता अति जरुरी काममा यात्रा गर्ने सयौं सवारीसाधनका हजारौं यात्रु सोमबार दिनभर सडकमा अलपत्र भए । बिहान सवा १० बजेतिर सडकखण्ड कविलास, घुमाउने सडकमा खसेको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको थियो । ट्रक, ट्यांकर, कार, मोटरसाइकल र मिनीट्रक गरी पाँच सवारीसाधन पहिरोले पुरेको थियो । घटनाका कारण दिनभर सडक अवरुद्ध थियो । सडकभरि छरिएका यात्रुले खान त परको कुरा, पानीसमेत पाएनन् ।

    बीचबाटोमा अलपत्र परेका वीरगन्ज महानगरपालिका २ का मोहम्मद गयासुद्दिनलाई एकातिर काम बितेको चिन्ता, अर्कातिर आँखै अगाडि दुईजना चेपिएर मरेको दृश्यले विह्वल बनाएको थियो । ‘सधैं प्लेनबाट हिँड्थें । आज बिहानै काठमाडौंबाट मोटरमा आएँ’, चिन्ता, भोक, तिर्खा र थकाइले लखतरान परेका उनले भने, ‘हामी तीन किलोमिटर हिँडेर यहाँ आएर बसेका छौं । एकातिर मान्छे मरेका छन् । कोही घाइते भएका छन्, अर्कातिर हजारौं यात्रु सडकमा मरेजस्तै भएका छन् ।’

    प्रहरीप्रशासन खटे पनि यात्रुले पाएको सास्ती जस्ताको तस्तै रहेको उनको भनाइ छ । ‘यता तीन किलोमिटरसम्म जाम छ, उता तीन किलोमिटर जाम छ । सडकमा चाउचाउसमेत खान पाइएको छैन । बाटोमा खाउँला भनेर बिहान छ बजे हिँडेको तर बीच बाटोमै यस्तो अलपत्र भइयो । खाना, पानी केही पाएको छैन, बिचल्ली भयो’, उनले भने, ‘बालबच्चा छन्, बूढाबूढी छन् । कति बिचल्ली छ हेर्नुस् ।’ सर्वसाधारण नागरिकले भोगेको सकसलाई सरकारले वास्ता नगरेकोमा उनले दुःख व्यक्त गरे ।

    उक्त सडकखण्डको स्तरोन्नतिको काम ज्यादै सुस्त गतिमा भएकाले सधैं जोखिमपूर्ण यात्रा गर्नुपरेकोमा सवारीचालक तथा मजदुरको चिन्ता छ । ‘जता पनि ढुंगा झरिरहन्छ । छल्दै हिँड्नुपर्छ’, लमजुङबाट नारायणगढ जाँदै गरेका बसका चालक कृष्ण नेपाली भन्छन्, ‘कहिले मरिने हो भन्ने चिन्ता लाग्छ तर हामी ड्राइभर, डराएको जस्तो देखाउनु पनि भएन । मनभित्र त डर हुन्छ नि ! आफैं तनावमा भयो भने झन् दुर्घटना होला भन्ने डर ।’

    यो सडकमा धेरै थोत्रा गाडी चल्ने भएकाले पनि दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ । ‘बाटो साँघुरो छ । ड्राइभरको लापारबाही उस्तै छ’, उनी भन्छन्, ‘सडक यस्तो छ । इन्डियन गाडी धेरै ठुल्ठूला आउँछन् । सबैलाई उछिन्न हतार हुन्छ अनि दिनहुँ दुर्घटना हुन्छ ।’ प्रहरी प्रशासनले ड्राइभरलाई दुःख दिने तर बाटोको अवस्था सुधार गर्न कुनै पहल नगर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे ।

    साँढे पाँच बजे बेसीसहरबाट नारायणगढ जान लागेका अर्का चालक राजेन्द्र मिजारले बाटो झन् कच्ची भइरहेकोमा चिन्ता व्यक्त गरे । ‘खासमा एक किलोमिटर भत्काउने, बनाइहाल्ने गर्नुपर्ने हो’, उनी भन्छन्, ‘तर एकैचोटि ३६ किलोमिटर भत्काएर यो अवस्था पारेको छ । भत्काएरै भ्याएको छैन, बनाउनेचाहिँ कहिले हो ? इन्जिनियरलाई हामीले सिकाउने त होइन तर हेर्नुस् तहतह बनाएर गरागरा पो भत्काउनुपर्छ, सीधा भत्काइएको छ । हेभी गाडी हिँड्दा पनि थर्किएर पहिरो आउँछ । माथि बाख्रा हिँड्दा पनि ढुंगा खस्छ ।’

    बाटो मर्मत नहुँदा समस्या भएकोमा उनको चिन्ता छ । ‘यो बाटोमा दसौं हजार गाडी गुड्छन् । एउटा सानो खाल्डो पर्‍यो भने भोलिपल्टसम्म दस हजार गाडी गुड्दा धेरै ठूलो खाल्डो भइसकेको हुन्छ तर भनेको बेला मर्मत हुँदैन’, उनी भन्छन्, ‘दिनदिनै दुर्घटना भइरहन्छ । अझै छिट्टै बन्ने सम्भावना छैन ।’
    बाटो धेरै जोखिम भएको र काम सुस्त गतिमा भइरहेकोमा प्रहरीलाई पनि उस्तै सास्ती खेपिरहनुपरेको छ । ‘दैनिक शान्तिसुरक्षा, अपराध, अनुसन्धानको अतिरिक्त थप चुनौती खेपिरहनुपरेको छ’, मुग्लिन इप्रकाका प्रहरी निरीक्षक योगेन्द्र हमाल भन्छन्, ‘नियमित कामका लागि नै जनशक्ति अभाव छ ।

    झन् यो जोखिम सडकमा जनशक्ति खर्च भइरहेको छ ।’ बन्दका बेला विभिन्न समस्या देखाएर गाडी कटाइदिनू भन्नेहरूले पनि हैरान पार्ने गरेको उनको दुखेसो छ ।लामो समयदेखि बाटो स्तरोन्नतिको कामले मुग्लिन बजार तथा सडककिनारका साना बजारहरूमा धुवाँ र धुलोको चर्को समस्या रहेको स्थानीय बासिन्दा बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij