प्रकाशित मिति : शुक्रबार, बैशाख १५, २०७४
काठमाडौं । अमेरिकी प्रविधि भीटीएस सफ्टवेयर प्रविधिबाट नेपालमा आँखाको उपचार सुरु गरिएको छ ।
काठमाडौंको कलंकीमा रहेको दृष्टि आई केयर सेन्टरले पहिलो पटक यस्तो प्रविधि भित्राएको प्रमुख कार्यकारी निर्देशक डा. भाइराज श्रेष्ठले बताए । अल्छि आँखाको उपचारको लागि यो प्रविधिको प्रयोग हुने बताइएको छ ।
दृष्टि आइ केयर सिस्टमले वि.स. २०७० असोज २८ गते झापाको विर्तामोडमा मेची दृष्टि आँखा अस्पताल स्थापना गरी सेवा आरम्भ गरेको थियो । सेवा विस्तारको क्रममा उसले वीरगंजमा विरगन्ज दृष्टि आँखा केन्द्र र कलंकीमा दृष्टि आई केयर सेन्टर सुचारु गरेको हो ।
शल्यक्रिया पश्चात हुन सक्ने इन्फेक्सनलाई न्यूनिकरण गर्न अपरेसन कोठालाई सम्पूर्ण रुपमा भिनाइल फ्लोरिङ गरी हेपा फिल्टर राखेर अन्तर्राष्ट्रियस्तरको बनाएको पनि उक्त अस्पतालले जनाएको छ ।
त्यसैगरी, हरेक विरामीले पारदर्शी रुपमा आफ्नो रोगसम्बन्धी जानकारी लिन र अपरेसनकोसमेत भिडियो हेर्न सकिने प्रबन्ध मिलाइएको आई सेन्टरका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
आँखा परिक्षण र उपचारमा सवैको सहज पहुँचका निम्ति शुल्क सर्वसुलभ बनाइएको तथा अति विपन्न र आर्थिक अभावमा उपचारबाट बन्चित भएकालाई निःशुल्क उपचारको प्रबन्ध मिलाइएको उनले बताए ।
रोग लाग्नु भन्दा रोग लाग्नबाट बचाउनु महत्वपूर्ण कार्य भएकाले ‘आँखा जचाँउ स्कुल जाउँ’ भन्ने अभियान आरम्भ गरिएको सो अस्पतालले जनाएको छ । यो अभियान अन्तरगत दृष्टि आइ केयर सिस्टमका सवै अस्पताल र केन्द्रहरुमा आरम्भदेखि नै पाँच बर्ष मूनिका सबै बालबालिकाहरुलाई निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको जनाइएको छ ।
सेवा विस्तारको क्रममा दृष्टि आई केयर सिस्टमले रिफ्रेक्टिभ (ल्यासिक) सर्जरी निकट भविष्यमै सञ्चालनमा ल्याउने सेन्टरका कार्यकारी निर्देशक श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij