मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शोभराजको अप्रेसन गर्ने डाक्टरले भने: हो, उनको मुटु रहेछ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २९, २०७४



  • ‘हो, उनको मुटु रहेछ र मैले त्यसको बिग्रेका भल्भहरू भर्खरै ठिक पारेँ। उनको स्वास्थ्य अब सुधार हुँदैछ।’

    मुटुका डाक्टर रामेश कोइरालाले सोमबार दिउँसो १ बजेर ५६ मिनेटमा यस्तो ट्विट गरेर चार्ल्स शोभराजको शल्यक्रिया सफल भएको सूचना सार्वजनिक गरे।

    यो सूचना दिँदा शोभराजको शल्यक्रिया सकिएको केही समय मात्र भएको थियो। हामीले साढे २ बजेतिर फोन गर्दा डा. कोइराला क्यान्टिनमा खाजा खाँदै थिए। उनलाई अर्को बिरामीको शल्यक्रिया गर्ने हतार थियो। यही मौकामा शोभराजको अवस्थाबारे हामीले कोइरालासँग संक्षिप्त कुराकानी गर्यौं।

    कम्तीमा एक दर्जन युवतीहरूको हत्या गरी ‘बिकनी किलर’ का रूपमा संसारभर कुख्यात शोभराजको मुटुको शल्यक्रिया सोमबार ९ बजे सुरु भएको हो। शल्यक्रिया सक्न तीन घन्टाभन्दा बढी समय लागेको थियो।

    केन्द्रीय कारागारमा आजीवन कैद सजाय भोगिरहेका शोभराजको केही समयअघि मात्र मुटुको भल्भमा समस्या पहिचान गरिएको हो। उनको शरीर सुन्निन थालेको र सास फेर्न अप्ठ्यारो भएपछि कारागारमै रहेको अस्पतालमा प्रारम्भिक उपचार सुरु भएको थियो। त्यही क्रममा मुटुमा समस्या रहेको शंका गरियो। अस्पतालले नै उनलाई बाहिर लगेर उपचार गराउन थाल्यो। जब मुटुको भल्भ बिग्रेको र शल्यक्रियाबाट मात्र निदान हुनसक्ने पुष्टि भयो, शोभराजलाई सहिद गंगालाल अस्पताल लगेर शल्यक्रिया गर्ने तयारी गरियो।

    स्रोतहरूका अनुसार शोभराजले सुरुमा त नेपालमा शल्यक्रिया गराउन आनाकानी गरेका थिए। यसलाई उनले आफूमाथिको षड्यन्त्रका रूपमा लिँदै ‘नेपालमा आफ्नो ज्यानलाई खतरा रहेको’ टिप्पणीसमेत गरे। पछि आफ्नो मेडिकल रिपोर्ट फ्रान्समै रहेका चिकित्सकलाई देखाएर शल्यक्रिया नै गर्नुपर्नेमा ढुक्क भएपछि बल्ल उनी राजी भएको कारागार स्रोत बताउँछ।

    यहाँनिर पनि शल्यक्रिया कसले गर्ने भन्नेमा दुबिधा उत्पन्न भयो। सुरुमा उनको उपचार गंगालालका अर्कै डाक्टरले गरिरहेका थिए। शल्यक्रिया पनि उनैले गर्ने चाँजो मिलाइँदै थियो। एकाएक यो ‘केस’ डा. कोइरालाको हातमा गयो।

    ‘यो केस १५ दिनअघि मात्र मकहाँ आइपुगेको हो,’ उनले सोमबार शल्यक्रिया पछि सेतोपाटीसँग भने, ‘पहिले त अरूले नै गर्ने भन्ने थियो।’

    अपराधको दुनियाँमा कुख्याती कमाएर किताब र सिनेमासमेत बनिसकेको शोभराजको शल्यक्रिया कसरी डा. कोइरालाको हातबाट भयो त?

    यसमा खासगरी शोभराजकी ‘पत्नी’ निहीता विश्वास र उनकी आमा शकुन्तला थापाको हात छ। शकुन्तलाले नै शोभराजको उपचार र शल्यक्रियामा संलग्न हुनुपर्यो भन्दै कोइरालालाई आग्रह गरेका थिए। उनी ‘हामीले तपाईंका बारेमा धेरै सुनेका छौं, तपाईंप्रति हामीलाई पूरा विश्वास छ, तपाईंले नै शोभराजको अप्रेसन गर्नुपर्यो’ भन्दै आएकी थिइन्। शोभराज आफैंले पनि अस्पताल आएर ‘मेरो अप्रेसन गरिदिनुस्’ भन्दै आग्रह गरेको डा. कोइरालाले बताए।

    ‘शोभराज र उनको परिवारबाटै एप्रोच भएपछि म उपचारमा संलग्न भएको हुँ,’ कोइरालाले भने।

    शोभराज र शकुन्तलाको सम्बन्ध उनको वकालतबाट सुरु भएको हो। शोभराज नेपालमा पक्राउ परेपछि उनको पैरवी अधिवक्ता शकुन्तलाले गरेकी थिइन्। यही क्रममा शोभराज र निहीताको भेट भयो। निहीताले सार्वजनिक रूपमै आफू शोभराजको प्रेममा परेको खुलासा गरिन्। उनीहरूले आठ वर्षअघि जेलमै विवाह गरेका थिए। त्यतिबेला शोभराजले जेलको चार पर्खालभित्रै निहीतालाई सिन्दुर हालेको घटनाले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो।

    त्यसपछि भने लामो समय उनीहरूको सम्बन्धबारे केही सुनिएन। उनीहरूको भेटघाट भएको पनि कतै चर्चा भएन। शोभराजलाई मुटुरोग लागेको थाहा पाएपछि भने आमाछोरी दुवै जेलमै उनलाई भेट्न गएका थिए। गंगालाल अस्पतालमा जारी उपचारकै क्रममा निहीताले शोभराजलाई रगत दिएको पनि चर्चा छ।

    यसरी पन्ध्र दिनअघि शोभराजको उपचारमा संलग्न भएपछि कोइरालाले उनको सबै रिपोर्ट केलाउन थाले।

    ‘उनको मुटुको दुईवटा भल्भ बिग्रेको थियो, एउटा धेरै, अर्को अलिकति कम,’ डा. कोइरालाले शोभराजको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै भने, ‘आज धेरै बिग्रेको भल्भ हामीले फेरेका छौं, अलिअलि बिग्रेको भल्भ मर्मत गरेका छौं।’

    उनले शोभराजको मुटुमा देखिएको समस्याबारे थप जानकारी पनि दिए।

    मान्छेको मुटुमा चार कोठा हुन्छन् – दाहिनेतिर दुईवटा, देब्रेतिर दुईवटा। दुवैतिरका दुई कोठाका बीचमा ढोका (भल्भ) हुन्छ, जुन खुल्ने र बन्द हुने प्रक्रियासँगै निरन्तर रगत प्रवाह भइरहेको हुन्छ। शोभराजको मुटुका यी दुवै भल्भमा समस्या थियो। त्यसमध्ये देब्रेतिरको भल्म (जसलाई मेडिकल भाषामा ‘मिट्रल भल्भ’ भनिन्छ) मा बढी नै समस्या रहेको पाइयो। त्यसलाई उपचार गरेर पुरानै अवस्थामा फर्काउने स्थिति थिएन। त्यही भएर सोमबारको शल्यक्रिया क्रममा पुरानो ‘भल्म’ फेरेर कृत्रिम ‘भल्भ’ हालिएको छ।

    अर्कोतिर, मुटुको दाहिनेतिरका दुईवटा कोठा बीचमा रगत प्रवाह हुने भल्भको समस्या भने बल्झिसकेको थिएन। त्यसलाई मर्मत गरेर फेरि सामान्य रूपमा चलाउन सकिने स्थिति थियो। यही देखेपछि चिकित्सक टोलीले दाहिने भल्भ मर्मत गरेर समस्या निदान गरेको छ।

    मान्छेको शरीरमा मुटुको भल्भ बिग्रने समस्या विभिन्न कारण बल्झिन सक्छन्। यो जीवनशैलीदेखि बढ्दो उमेर दुवैका कारण हुन सक्छन्। शोभराजको सन्दर्भमा भने जीवनशैलीभन्दा उमेरसँगै क्षय हुँदै गएको डा. कोइरालाको भनाइ छ।

    ‘यो उमेरसँगै विस्तारै क्षय हुँदै जाने कुरा हो,’ डा. कोइरालाले भने, ‘तर, सबैमा लागू हुन्छ भन्ने छैन।’

    झन्डै तीन घन्टा लामो शल्यक्रियापछि शोभराजलाई कृत्रिम सास फेर्ने मेसिनमा बेहोस बनाएर राखिएको छ। मुटुको शल्यक्रिया गर्दा तुरुन्तै होसमा ल्याउन हुँदैन। शरीरका अन्य अंगमा कस्तो प्रभाव परेको छ हेरेपछि मात्र विस्तारै होसमा ल्याउने गरिन्छ।

    शोभराजलाई पनि शरीरका अन्य अंगहरूले राम्ररी काम गरेको छ कि छैन निर्क्यौल गरेर विस्तारै बेहोसीको औषधि बन्द गरिने डा. कोइरालाले बताए। ‘त्यतिञ्जेल उनलाई बेहोस बनाएरै राख्नुपर्छ,’ उनले भने।

    अहिले बेहोसीमा रहेका शोभराजले कुनै समय संसारको होस उडाइदिएका थिए।

    खासगरी विदेशी महिला पर्यटकलाई एकपछि अर्को हत्या गरेपछि उनलाई सबैले ‘सिरियल किलर’ का रूपमा चिने। उनी हत्या गर्नुअघि युवतीलाई बिकनी लगाइदिन्थे र विष खुवाएर मार्थे। हत्यामा उनले दुईवटा पहिचान छाडेका हुन्थे। एउटा त्यही बिकनी भइहाल्यो, अर्को उनी ती युवतीको अनुहार पनि डढाइदिन्थे।

    एक दर्जन यस्ता घटनामा उनको नाउँ मुछिए पनि उनलाई लामो समय प्रहरीले पक्राउ गर्न सकेको थिएन। उनी फ्रान्सदेखि थाइल्यान्ड, भारत लगायत विभिन्न देशमा ‘वान्टेड’ थिए। अन्ततः नेपालबाट पक्राउ परेका हुन्।

    १९ वर्षकै उमेरबाट अपराधको दुनियाँमा छिरेका चार्ल्स शोभराज सुरुमा फ्रान्सको पेरिसमा चोरी गर्थे। चोरीकै अभियोगमा एक वर्ष जेल बस्दा त्यहाँको ‘अन्डरवर्ल्ड’ सँग उनको साँठगाँठ भयो। त्यसपछि बिहे गरेर भारत आए। र, मुम्बईमा पनि कार चोरी तथा जुवामा संलग्न हुन थाले। बिकनी किलरको पहिचान भने थाइल्यान्डमा गरेको हत्याबाट सुरु भएको हो।

    दुनियाँलाई चकित पार्ने यस्तो आपराधिक ‘ग्राफ’ भएका शोभराजको उपचार र शल्यक्रिया गर्दा कस्तो अनुभव भयो त?

    हाम्रो यो प्रश्नमा डा. कोइरालाले जवाफ दिए, ‘उनीसँग १५ दिनदेखि नै लगातार भेटघाट भइरहेकाले शल्यक्रिया गर्दा खासै नौलो केही भएन। यत्ति हो, आफूले के–के कुरा सुन्दै आएका चाल्र्स शोभराज व्यक्तिगत रूपमा कुराकानी गर्न निकै रमाइला रहेछन्।’

    सायद उनको यही रमाइलो स्वभावसँग परिचित भएरै हो, निरपराध युवतीहरूको वीभत्स हत्या गरेको अभियोगमा सजाय काटिरहेका शोभराजको अस्वस्थ मुटु ठिक पारेपछि डा. रामेश कोइरालाले लेखे–

    ‘हो, उनको मुटु रहेछ र मैले त्यसको बिग्रेका भल्भहरू भर्खरै ठिक पारेँ। उनको स्वास्थ्य अब सुधार हुँदैछ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij