प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ ।
पत्रकार महासङ्घको परिचयपत्रको आधारमा प्रदान गरिने सो सेवाअन्तर्गत जनरल बेडमा निःशुल्क, क्याबिन र ओपिडी तथा इमर्जेन्सी टिकटमा ५०, ल्याब परीक्षणमा २५, युएसजी एक्सरे, ओटी चार्जमा २० एवम् एमआरआई, फार्मेसी, दाँतको उपचार र इसिजी सेवामा पाँच प्रतिशत सहुलियत दिने भएको हो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले पत्रकारको उपचारमा सम्झौता कोसेढुङ्गा सावित हुने बताउँदै कास्कीमा सम्झौता भएपनि मुलुकभरिका पत्रकार महासङ्घका सदस्यले तोकिएको सुविधा प्राप्त गर्ने जानकारी दिए ।
गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनालले एक वर्षका लागि सम्झौता गरिएको जानकारी दिँदै आगामी दिनमा समेत पत्रकार र परिवारका लागि समेत थप सुविधा प्रदान गर्ने बताए।
उनका अनुसार ३०० श्ययाबाट सेवा सुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल ५५० श्ययाबाट स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । यसमध्ये २० आइसियु, पाँच एसआइसियु, १० पोस्ट अपरेटिभ वार्ड, आठ श्ययाको पिआइसियु, २१ श्ययाको एनआइसियु तथा ४४ श्ययाको विशिष्ट क्याबिन छ ।
अस्पतालबाट हाल दैनिक सातसयदेखि आठसय जनाले बहिरङ्ग विभागबाट बिरामीले सेवा लिइरहेको बताउँदै उनले कलेजबाट सन् २०१० देखि प्रत्येक वर्ष ७५ जना विद्यार्थी एमबिबिएस पढ्दै आएकोमा पहिलो ब्याचका ७५ विद्यार्थी अन्तिम वर्षको परीक्षामा उत्तीर्ण भई दोस्रो वर्षका ६० जनाले इन्टर्नसिप गरिरहेको जानकारी दिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij