प्रकाशित मिति : शनिबार, साउन ७, २०७४
कमेडियन कपिल शर्माका लागि यो वर्ष खराब मानिएको छ। सहकर्मी सुनील ग्रोवरसँगको झगडा र त्यसले निम्त्याएका समस्याको समाधान गरिनसक्दै उनको स्वास्थ्यले पनि दुःख दिन थालेको छ।
‘द कपिल शर्मा शो’ सुटिङ गर्दागर्दै कपिल पछिल्ला दुई महिनामा तीनपटक बेहोश भए। उनलाई अस्पताल नै भर्ना गर्न पर्यो।
उनको स्वास्थ्यकाबारेमा अनेक टिप्पणी भए। उनी बिरामी भएर सुटिङ नभएपछि कतिले यसलाई कपिलको गैरजिम्मेवारी भने त कसैले तनावलाई कारण देखाए।
आफू ठीक भएको भन्नु बाहेक आफ्नो समस्याबारे कपिलले कुनै आधिकारीक जानकारी पनि दिएनन्। तर, हालै उनकी दिदी पूजा देवगनले यसबारे बताएकी छन्।
भारतीय समाचारमाध्यमले जनाएअनुसार पूजाले कपिललाई अहिले धेरै स्वास्थ्य समस्या आइरहेको बताएकी छन्।
उनले भनेकी छन्, ‘आजभोलि भाइ कपिलको स्वास्थ्य राम्रो छैन। उनी बिरामी छन् र मानिसहरु भने उनलाई गैरजिम्मेवार भनिरहेका छन्। उनले आफ्नो काम पूरा सम्मानका साथ गर्छन्, तर सुटिङ किन रद्द भयोभन्ने बारे सफाइ भने दिदैंनन्।’
पूजाले भनेअनुसार कपिल डिप्रेसनको शिकार भएका छन्। उनी चिन्तित छन् र भित्रभित्रै डिप्रेसनले उनलाई सताइरहेको छ। तर, यसबारे कपिलले कोहीसँग पनि कुरा नगरेको पनि उनले बताएकी छन्।
पूजा गतसाता कपिल बिरामी हुँदा उनलाई हेर्न मुम्बइ आएकी थिइन्।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij