प्रकाशित मिति : आइतवार, साउन १५, २०७४

एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् ।
संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सात वर्षअघि बेनीमा स्थापना गरिएको गुप्त सेवा मार्ग दर्शन सहयोग समितिसमेत तीन वर्षयता निष्क्रिय बनेको छ ।
जिल्लाका संक्रमितलाई सहयोग र संरक्षण गर्दै उनीहरुको जीविकोपार्जनका लागि सहयोग गर्न संस्था खोलेर केही वर्ष आफ्नो रोगबारे समाजमा खुलेर जनचेतना फैलाउने कार्यमा सक्रिय भए पनि पछिल्लो समय आर्थिक अभावमा संस्था बन्द भएपछि खुलेका संक्रमित पनि पलायन भएको संस्थाका अध्यक्ष होमबहादुर पुर्जाले बताए ।
अध्यक्ष पुर्जाका अनुसार ग्रामीण क्षेत्रमा संक्रमितलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको अवस्थामा आफ्नै परिवार र समाजबाट समेत अपहेलित बनेका संक्रमितलाई संरक्षण तथा सहयोग गर्न खोलिएको संस्थासँग हाल ५२ जना संक्रमित सम्पर्कमा रहेका छन् ।
संरक्षण र जीविकोपार्जनका लागि समस्या भएपछि खुलेका संक्रमित पनि जिल्ला बाहिर पलायन हुने तथा नयाँ संक्रमित नखुल्दा एचआइभी न्यूनीकरणमा चुनौती थपिएको संस्थाका सल्लाहकार मुक्ति ढुंगानाले जानकारी दिए ।
संक्रमितको जीवनयापन सहज बनाउनका लागि स्वास्थ्य मन्त्रालय तथा एचआइभीसम्बन्धी कार्यक्रम गरिरहेका सङ्घसंस्थासँग सामूहिक पशुपालन, तरकारीखेती एवं सीपयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । रासस

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij