प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४
गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।
नगरपालिकाले शनिबार नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम सुरू गरिएको बताए ।
खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि उपत्यकाको सभ्यताको स्रोत बाग्मतीलगायत नदीको सफाइमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा नगर उपप्रमुख शान्ति नेपालले भूकम्पपछि भत्किएका सबै घरका शौचालय पुनर्निर्माण सम्पन्न भएपछि साविकको नयाँपाटी गाविस क्षेत्रलाई खुला दिसारहित स्थानका रूपमा सार्वजनिक घोषणा गरिएको बताए ।
नगरपालिकाको वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डितले ‘एक घर एक शौचालय’को निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै वडाका धेरै मानिसको भीडभाड हुने स्थलमा सार्वजनिक शौचालयको निर्माण गर्ने कार्यक्रम पनि अघि बढेको जानकारी गराए । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij