प्रकाशित मिति : शनिबार, भदौ ३१, २०७४
जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४औँ घण्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ ।
सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो । जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा अस्पतालमा सो सेवा दिइने छ ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता बस्नेतले स्वास्थ्य सेवामा व्यापक सुधार गर्नुपर्नेमा जोड दिँदै निकै ठूलो मेहनतपछि सो सेवा विस्तार गरिएकाले सबैलाई सहयोग गर्न आग्रह गरे।
उनले जाजरकोट, डोल्पा हुँदै तिब्बत, जाजरकोट, जुम्ला, मध्यपहाडी लोकमार्ग र दाङ हुँदै मुगु जोड्ने नयाँ सडकको काम भइरहेको जानकारी दिँदै रिम्ना र कुदुमा लिफ्ट सिँचाइको काम अब छिट्टै शुरु हुने बताए। रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij