प्रकाशित मिति : शनिबार, कार्तिक २५, २०७४
बलिउड अभिनेता इरफान खानले आफ्ना फिल्ममा अभिनेत्री छान्न निकै कठिन हुने बताएका छन्। प्रायः हरेक फिल्ममा अलग भूमिकामा देखिने इरफानले बलिउडमा अभिनेत्री चयन गर्न गाह्रो भएकै कारण पाकिस्तान र इरानबाट बोलाउने गरेको बताएका हुन्।
‘मेरो फिल्ममा जब अभिनेत्रीको कुरा आउँछ, तब म निकै गम्भीर हुन्छु। किनकि, म जुन किसिमका फिल्म खेल्छु, त्यसमा ग्ल्यामरस अभिनेत्रीले काम चल्दैन।’
‘बलिउडमा राम्रा अभिनेत्री थोरै मात्र छन्। उनीहरू हरेक पटक मेरा फिल्मकै निम्ति उपलब्ध हुन्छन् भन्ने हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा हिरोइन कहाँबाट ल्याउँ भन्ने ठूलो चुनौती हुन्छ। अनि नयाँ हिरोइन खोज्ने क्रममा कहिले पाकिस्तान, कहिले इरान त कहिले दक्षिण भारतबाट ल्याउनुपर्ने हुन्छ।’
जीवन्त अभिनय गर्ने पहिचान पाएका इरफन बेला–बेलामा विभिन्न मुद्दामा आफ्ना विचार व्यक्त गरिरहन्छन्। धेरै महिला निर्देशकसँग काम गरिसकेका इरफानले आफू महिलासामू पर्दा पिछडिएको महशुस गर्ने पनि बताएका छन्।
उनका अनुसार समयमै काम गर्न सक्ने खुबी महिलामा हुन्छ। उनी भन्छन्, ‘समयमै काम गर्न सक्ने मामिलामा महिला यति अघि छन् कि पुरुषले प्रतिस्पर्धा गर्नै सक्दैनन्। यो पुरुषको औकातभन्दा परको कुरा हो।’
इरफान आगामी फिल्म ‘सपना दिदी’ मा दिपीका पादुकोणसँग देखिँदैछन्। अभिनेताबाट निर्माता बनेका इरफान फिल्म ‘करिब करिब सिंगल’ को प्रचारमा पनि व्यस्त छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij