प्रकाशित मिति : शनिबार, मंसिर १६, २०७४

जिल्लाका सबैजसो गाउँ बस्तीमा फैलिएको रुघा, खोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएका हुन् ।
गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ, रुघा खोकीले गाउँ निकै प्रभावित बनेको छायानाथ रारा नगरपालिका–१ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिए । एक हप्तायता गाउँमा निमोनिया र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए ।
यसै हप्ता छायानाथ रारा नगरपालिका–५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ । साथै, वडा नम्बर ७ मा एक वर्षीय बालक र ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ ।
त्यस्तै, वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्तायता पाँच जनाको मृत्यु भएको स्थानीयवासी धीरेन्द्र भामले बताए ।
यता, खत्याड गाउँपालिकाका सबै गाउँ बस्तीमा रुघा खोकी, निमोनिया र ज्वरोको प्रकोप फैलिएको तथा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएको स्थानीयवासी वीर्खबहादुर थापाले जानकारी दिए । रुघा, खोकी र ज्वरोका कारण शुक्रबारसम्म आधा दर्जन बढीको मृत्यु भएको उनले जानकारी दिए ।
यो साताभित्र एउटै रिगा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी र ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ ।
कात्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाडा गाउँका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीय मागी रोकाया, पैखु गाउँका ५६ वर्षीय धनसिंह थापा र सोही गाउँका ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको छ ।
कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने रिंगटा लाग्ने बान्ता आउने आँखा दुब्ने खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् ।
दुई सातासम्म बालबालिका र तन्नेरी बिरामी परेर सन्चो हुने र ५० वर्षभन्दा माथिका दमरोग रक्तचाप कम र बढी भएका महिला पुरुषलाई रोगले बढी च्यापेर धमाधम मृत्यु हुन गरेको छ ।
गम्था, रिघा, रातापानी, कोटडाँडा, श्रीकोटलगायत बस्तीमा व्यापक भाइरल ज्वरो फैलिएको छ । चिसो बढ्दै जाँदा झन भाइरल ज्वरोका बिरामी बढेका छन् । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij