प्रकाशित मिति : शनिबार, पुस १५, २०७४
नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ थ्री स्टार क्लबमा आबद्ध भएका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य विमल र अनन्तले थ्री स्टारसँग ६ महिनाको सम्झौता गरेका छन्। पछि यो सम्झौता थपिन सक्ने थ्री स्टारले जनाएको छ।
एन्फा एकेडेमीका उत्पादन रक्षक अनन्त र स्ट्राइकर विमलले युरोपमा समेत प्रशिक्षण गर्ने अवसर पाइसकेका छन्। विमलको कप्तानीमा नेपालले दुई वर्षअघि साफ यू १९ फुटबल च्याम्पियनसिपको उपाधि जित्दा अनन्त पनि टोलीका महत्वपूर्ण सदस्य थिए। त्यसपछि बंगलादेशमा बंगबन्धु गोल्ड कप, नेपाली यू २३ ले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा र गत वर्ष एएफसी सोलिडारिटी कप जित्दा विमल र अनन्त दुवै टोलीको महत्वपूर्ण सदस्य थिए ।
ए डिभिजन लिगलाई लक्षित गर्दै विमल र अनन्तसँग सम्झौता गरेको भन्दै थ्री स्टार क्लबले लिगको टुंगो नलागेपनि आफूहरूले विमल र अनन्तसँग सम्झौता गरेको बताए।
विमलले यसअघि थ्री स्टारबाट भारतमा एक नकआउट प्रतियोगिता खेलिसकेका छने भने अनन्तले खप्तडबाट थ्री स्टारबाट डेब्यू गर्नेछन्।
आगामी सातादेखि धनगढीमा सुरू हुने सुदूरपश्चिम खप्तड गोल्ड कप प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते बाट सुरू हुँदैछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij