प्रकाशित मिति : मङ्लबार, पुस १८, २०७४
बर्नलीमाथि लिभरपुलले संघर्षपूर्ण जित दर्ता गरेको छ। इंग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा बर्नलीलाई २-१ ले पराजित गर्दै लिभरपुलले साँघुरो जित निकालेको हो ।
बर्नलीको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र रागनर क्लाभनले गोल गरे। बर्नलीका जोहान बर्ग गुड्मुन्डसनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुबै टिम आक्रमक रणनीतिसहित मैदानमा उत्रिए। खेलको ६१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए।
खेलको ८७ औं मिनेटमा बर्नलीका गुड्मुन्डसनले गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काए। खेलको इन्जुरी समयमा लिभरपुलका लागि डिफेन्डर क्लाभनले गोल गरेपछि लिभरपुलले संघर्षपूर्ण जित दर्ता गर्यो।
जितसँगै लिभरपुलले सबैखाले प्रतियोगिता गरी १६ खेलमा अपराजित यात्रा कायम गरेको छ। पछिल्लो १६ खेलमा लिभरपुलले ११ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ।
बर्नलीमाथिको जितपछि चौथो स्थानमा उक्लिएको लिभरपुलले २२ खेलबाट ४४ अंक जोडेको छ । पराजित बर्नली ३४ अंक जोडेर लिगको सातौं स्थानमा छ। लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटीको २१ खेलबाट ५९ अंक भएको छ, दोस्रो स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ४७ र तेस्रो स्थानमा रहेको चेल्सीको ४५ अंक भएको छ। यस्तै लिगको पाँचौ स्थानमा रहेको आर्सनलको ३८ अंक छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij