प्रकाशित मिति : शुक्रबार, माघ ५, २०७४
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल ६ स्थान माथि उक्लिँदै १६५औं स्थानमा आएको छ।
अघिल्लो महिना १७१ औं स्थानमा रहेको नेपालले पछिल्लो समय ठूलो फड्को मारेको हो। नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा उक्लिएको छ।
नेपाल भन्दा माथि रहेको भारतसमेत २ स्थान माथि उक्लिएर १०२ औं स्थानमा पुगेको छ भने १४८औं स्थानमा अफगानिस्थान यथावत छ। ५ स्थान माथि उक्लिएको माल्दिभ्स १५० औं स्थानमा छ।
दक्षिण एसियामा नेपाल भन्दा तल चार राष्ट्र रहेका छन्। नेपालपछि भुटान १८८ औं स्थानमा रहँदा बंगलादेश १९७ औं स्थानमा छ । त्यस्तै श्रीलंका २०० औं स्थानमा र दक्षिण एसियाको पुछारमा पाकिस्तान २०१ औं स्थानमा रहेको छ।
नयाँ वरियताको शिर्ष १४ स्थानसम्म फेरवदल भएको छैन। शीर्ष स्थानमा जर्मनी यथावत रहेको छ । त्यस्तै ब्राजिल , पोर्चुगल, अर्जे्न्टिना र बेल्जियम दोस्रोबाट क्रमश पाचौं स्थानसम्म रहेको छ । नयाँ वरियतामा स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली छैटौंबाट दशौंसम्म रहेका छन्। इंल्याण्डलाई पछि पार्दै क्रोएसिया १५औं स्थानमा आइपुगेको छ।
एसियाली बरियतामा इरान शीर्ष स्थानमा रहँदै ३४औं स्थानमा छ भने दोस्रोमा अष्ट्रेलिया तेस्रोमा जापान तथा चौथोमा दक्षिण कोरिया छन्। विश्वकपको लागि टिकट काटेको साउदी अरेबिया ६५औं स्थान सहित एसियामा पाँचौ स्थानमा अटाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij