आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र क्यानडाको खेल सेमिफाइनलसरह!, विश्वकप छनोट खेल्न जित्नैपर्ने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०७४



  • नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज अन्तिम चरणका निर्णायक खेल हुँदैछन्।

    अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन्। यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ।

    शीर्ष २ भित्र परेका टिम आउँदो सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुने प्रतियोगितामा छानिनेछन्।

    शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

    पछिल्लो समय खराब ब्याटिङले गुज्रिरहेको नेपाल शीर्ष २ मा पर्न आज क्यानडालाई हराउनैपर्ने बाध्यता छ। यदि हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ।

    नेपालले हार बेहोरेको अवस्थामा नामिबियाले नेपाललाई अंकमा पछि पार्नेछ। यदि नामिबियालाई युएईले हराए पनि रनरेटमा नेपाललाई पछि पार्दै छनोट हुनेछ। यसर्थ नेपालका लागि आजको खेल ‘गर या मर’ सरह हुनेछ।

    नामिबयाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरू हुने खेलमा नेपालले आफ्नो ब्याटिङ लाइन सुधार्नुपर्ने हुन्छ।

    प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफूलाई सम्हाल्न सकेको छैन। उपकप्तान ज्ञानेन्द्र मल्लले ४ खेलमा ३६ रनमात्र बनाउन सकेका छन् । अर्का आसलाग्दा खेलाडी दीपेन्द्रसिंह ऐरीले ३१ रनमात्र बनाउन सकेका छन् । दिलीप नाथले पहिलो ३ खेलमा २१ रनमात्र बनाउन सके।

    चारपल्ट विश्वकप खेलिसकेको क्यानाडाले २०१४ को विश्वकप छनोटपछि रेलिगेसनमा पर्दै डिभिजन २ हुँदै ३ मा झरेको थियो । डिभिजन ३ को उपविजेता बन्दै क्यानाडा डिभिजन २ मा खेलिरहेको हो।

    क्यानडा र नेपालबीच भएका पछिल्ला २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो।

    त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाललाई क्यानडाले १२ रनले हराएको थियो।

    नेपालका हेर्न लायक खेलाडीहरू

    सन्दिप लामिछाने

    बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानेले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने खेलाडी हुन्। उनले एकै खेलमा ५ सहित १४ विकेट लिइसकेका छन्।

    लामिछनेले केन्याबिरूद्ध ५ विकेट लिने क्रममा १० ओभर बलिङ गर्दै ५ मेडन राखेर २० रन खर्चिदै म्यान अफ दी म्याच भएका थिए।

    सोमपाल कामी

    प्रतियोगितामा अहिलेसम्म ९ विकेट लिएका सोमपाल कामी बढी विकेट लिने खेलाडीको चौथो स्थानमा छन्। उनले ब्याटिङ पनि गरिरहेका छन्। केन्याविरूद्धको महत्वपूर्ण खेलमा अन्तिम बलमा २ रन लिँदै उनले जित दिलाएका थिए।

    पारस खड्का

    कप्तान पारस खड्का ब्याटिङ र बलिङ दुबैमा अरू खेलाडीको तुलनामा केही जमेका छन्।  सर्वाधिक रन लिने सूचीको छैठौं नम्बरमा रहेका पारसले ४ खेलमा १ सय २९ रन जोड्न सकेका छन्। यस्तै ४ खेलमा उनले ३ विकेटसमेत लिएका छन्।

    क्यानडाका हेर्न लायक खेलाडीहरू

    रूभिन्दु गुणसेकेरा

    क्यानडाका खेलाडीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।  बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष दुई खेलाडी क्यानडाकै छन्। प्रतियोगितामा हालसम्म क्यानडाका रूभिन्दु गुणसेकेराले सबैभन्दा बढी २ सय ७ रन जोडिसकेका छन्। प्रतियोगितामा २ अर्धशतक प्रहार गरिसकेका उनले केन्याविरुद्ध ८३ रन प्रहार गरेका थिए।

    ओपनिङ ब्याट्सम्यान रूभिन्दु प्रतियोगिताको सर्वाधिक बढी चौका र छक्का प्रहार गर्ने खेलाडी पनि हुन्। उनले अहिलेसम्म १६ चौका र १२ छक्का प्रहार गरेका छन्।

    नीतिस कुमार

    प्रतियोगिताको बढी रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका क्यानडाका कप्तान नीतिस कुमारले १ सय ६८ रन जोडेका छन्। अलराउन्डर उनले अहिलेसम्म २ अर्धशतक प्रहार गरेका छन्। बलिङतर्फ पनि २ विकेट लिइसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij