मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

राति ११ बजेसम्म चल्ने गरी साझाको अपांगमैत्री बस सञ्चालनमा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २३, २०७४



  • साझा यातायातले बुधबारदेखि राजधानीमा सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको छ। यो बस हरेक दिन राति ११ बजेसम्म सञ्चालन हुने साझाले जनाएको छ।

    बिरामी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई मध्यनजर गर्दै ठूला अस्पतालहरूको रुटमा यो अपांगमैत्री बस गुड्न थालेको हो। पाटन, अल्का, प्रसूति गृह, नर्भिक, नेपाल आँखा अस्पताल, वीर, कान्ति बाल, टिचिङ, गंगालाल अस्पताललाई समेट्ने गरी बस सञ्चालनमा आएको हो।

    लगनखेल, त्रिपुरेश्वर, शहीदगेट, लाजिम्पाट, नारायणगोपालचोक हुँदै बस बाँसबारीसम्म पुगी सोही रुट हुँदै फर्कनेछ।

     

    काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका चिरिबाबु महर्जन तथा साझाका अध्यक्ष कनकमणि दीक्षितले संयुक्त रूपमा बस सेवाको शुभारम्भ गरे।

    सेवाको शुभारम्भ गरेपछि दुवै मेयर त्यही बसमा सँगै बसेर पुल्चोकदेखि बागदरबारसम्म पुगे। धुलाम्मे, खाल्डाखुल्डीयुक्त सडकका बाबजुद साझाले पहिलोपटक  अपांगमैत्री बस सञ्चालनमा ल्याएको हो। बसको लागत ३५ लाख रुपैयाँ रहेको साझाले जनाएको छ।

     

    बस सेवा शुभारम्भको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै दुवै मेयरले राजधानीको ट्राफिक व्यवस्थापन सुधारका लागि ठूला बसहरू अनिवार्य भएको बताए।

     

    काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले साझाका ठूला बसको संख्या कम्तीमा १ सयको संख्यामा पुर्याउन आफूले पहल गर्ने बताए। ठूला बसलाई प्राथमिकता दिँदै महानगर अघि बढ्ने उद्देश्यले नै साझासँग सहकार्य गरिएको शाक्यको भनाइ छ।

    सार्वजनिक सवारीसाधनलाई व्यस्थित गर्न सकेमा मोटरसाइकल तथा निजी सवारी साधनको संख्या समेत घट्ने उनले बताए। शाक्यले चालक तथा सर्वसाधारणलाई ट्राफिक लेनको पालना गरी सभ्य बन्न आग्रह गरे।

    त्यस्तै, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मोटरसाइकल र साना सवारीसाधनलाई निरुत्साहित गरी अघि बढ्नुपर्नेमा जोड दिए। ‘सार्वजनिक सवारी साधन व्यवस्थित भएमा पनि मोटरसाइकल वा कार किन्नुपर्ने बाध्यता समेत हुँदैन’ उनले भने।

    साझा यातायातसँग महानगरले सहकार्य गर्दा स्थानीय बस व्यवसायीहरूले दबाब समेत दिएको उनले गुनासो गरे। ‘जब साझामा १ करोडको सेयर लगानी गर्ने सम्झौता भयो, मलाई बस व्यवसायीहरूको दबाब समेत आयो’ उनले भने।

     

    कार्यक्रममा साझाका अध्यक्ष कनकमणि दीक्षितले योसहित ४७ वटा बस संचालनमा आएको जानकारी दिए। यातायात क्षेत्रमा साझाले ‘गेम चेन्जर’को भूमिका निर्वाह गर्न चाहेको दीक्षितले बताए।

    साझालाई राजनीतिमुक्त बनाइनुपर्नेमा जोड दिँदै उनले भने ‘हामीलाई सरकारको नियमन आवश्यक छ, तर राजनीतिकरण नगर्नुहोस्।’
    दीक्षितले सार्वजनिक सवारीसाधनमा उच्चतम मापदण्ड नहुँदा व्यवस्थित हुन नसकेको बताए। सबैले टिकट खरिद गरेर मात्रै यात्रा गर्नुपर्नेमा उनले जोड दिए।

     

    साझाले आगामी दिनमा कार्डको व्यवस्था गरेर अघि बढ्ने योजना बनाएको छ। कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता बढ्ने उल्लेख गर्दै दीक्षितले हालको टिकट प्रणालीले पैसा चुहावटको संभावना समेत रहने औंल्याए।

     

    यातायातलाई व्यवस्थित गर्न दुवै महानगर तथा अन्य नगरहरुसँग सहकार्य गरेर अघि बढ्ने दीक्षितले प्रतिबद्धता जनाए।

    कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले ठूला बस थप्दै जानुपर्नेमा जोड दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij