आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

के नेपालले अब भारत र अस्ट्रेलियाको राष्ट्रिय टोलीसँग खेल्न पाउँछ?

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय (वान–डे) खेल्ने मान्यताप्राप्त राष्ट्र बनेको छ। जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट क्रममा बिहीबार प्राप्त यो मान्यता कम्तिमा चार वर्ष रहनेछ।

    यसले स्थानीय क्रिकेटप्रेमीमा खुसीको लहर ल्याउनुका साथै अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली टिमको प्रशंसा भइरहेको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान लगायत देशका खेलाडीले सामाजिक सञ्जालमार्फत् नेपाली टोलीलाई ‘वान–डे’ खेल्ने समूहमा स्वागत गरेका छन्।

    नेपाली टिमले हासिल गरेको सफलतासँगै एउटा प्रश्नमा धेरैको चासो छ– के यो मान्यतापछि अब नेपालले भारत, पाकिस्तान, श्रीलंका, अस्ट्रेलियाजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका ‘च्याम्पियन’ राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्न पाउँछ?

    हामीले यसबारे नेपाली यु-१९ टिमका प्रशिक्षक विनोद दास र नेपाली टिमका पूर्वकप्तान पवन अग्रवालसँग कुराकानी गर्यौं।

    उनीहरूका अनुसार एकदिवसीय मान्यतासँगै नेपाल विश्व क्रिकेटका १६ शीर्ष राष्ट्रको सूचीमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय खेल्ने मान्यता दिएका यी १६ राष्ट्रबीच आपसी समझदारीमा खेल हुनसक्ने दास बताउँछन्। यसमध्ये १२ पूर्ण सदस्य छन् भने नेपालसहित चारवटा अस्थायी हुन्।

    यसमा भारत, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, श्रीलंका, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, स्कटल्यान्ड लगायत मुलुक पर्छन्।

    यी राष्ट्रबीच हुने त्रिकोणात्मक वा अन्तर्राष्ट्रिय सिरिजमा नेपालले सहभागिता जनाउनसक्ने दासले बताए। आपसी समझदारी भने हुनुपर्छ।

    ‘हामीले राखेको प्रस्ताव यी मुलुक र त्यहाँको क्रिकेट बोर्डले स्वीकार गरे हामी यी १६ मध्ये जुनसुकै देशसँग एकदिवसीय खेल्न सक्छौं,’ दासले सेतोपाटीसँग भने, ‘सम्बन्धित देशको क्रिकेट बोर्डले सम्झौता गर्नुपर्नेछ भने आइसिसीले मान्यता दिनुपर्नेछ।’

    यसको मतलब, अब नेपालले भारत, अस्ट्रेलिया, पाकिस्तानजस्ता देशका राष्ट्रिय टिमसँग खेल्ने बाटो खुलेको छ।

    यति मात्र होइन, आइसिसीसँग सहकार्य गरेर नेपाल आफैंले एकदिवसीय शृंखला आयोजना गर्नसक्छ। नेपालमा क्रिकेटको आधिकारिक निकाय नहुँदा तत्काललाई केही कठिन हुनेछ। सरकार आफैंले पहल गर्नुपर्छ।

    सरकारले कुनै पनि देशको क्रिकेट बोर्डलाई सोझै वा कूटनीतिक माध्यमबाट एकदिवसीय प्रतियोगिता खेल्न आग्रह गर्न सक्छ। उदाहरणका लागि, भारतसँग एकदिवसीय खेल्ने हो भने भारत सरकार वा बिसिसिआईलाई सोझै प्रस्ताव राख्न सक्छ।

    पछिल्लो समय नेपालसँगको कूटनीतिक सम्बन्ध सुधार्न भारतले नेपालको आग्रह स्वीकार गर्नसक्ने सम्भावना छ। ‘आगामी भारत भ्रमण क्रममा प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल–भारत क्रिकेट शृंखला आयोजना गर्न प्रस्ताव राखेर यसको थालनी गर्न सकिन्छ,’ नेपाली टिमका पूर्वकप्तान अग्रवालले भने।

    त्यस्तै, पाकिस्तान आतंकवाद मुद्दालाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा एक्लिएको छ। ऊ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा पनि मित्रराष्ट्रसँग सम्बन्ध बढाएर आफ्नो उपस्थिति जनाउन उत्सुक र प्रयत्नशील देखिन्छ।

    प्रधानमन्त्री ओलीले सपथ लिएलगत्तै पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासी शुभकामना दिन नेपाल भ्रमणमा आएका थिए। यो उनको क्षेत्रीय सम्बन्ध विस्तारकै निम्ति भएको हो।

    अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानसँग हाम्रा विभिन्न विषयमा मतभिन्नता होलान्। कतिपय विषयमा हामी एकसाथ हौंला त कतिपय विषयमा मत फरक होला। राष्ट्रिय क्रिकेटको हित निम्ति नेपालले पाकिस्तानसँग एकदिवसीय शृंखलाको पहल गर्यो भने ऊ सकारात्मक हुन सक्छ।

    यो अवस्थामा नेपाल आफैं पाकिस्तान गएर खेल्न सक्छ वा पाकिस्तानी टोलीलाई यहाँ निम्ता दिन सकिन्छ। पछिल्लो समय धेरै देशले पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन्।

    पाकिस्तानसँग क्रिकेट सम्बन्ध बढाउन सकियो भने भारतलाई पनि नेपालसँग एकदिवसीय खेल्न दबाब पुग्नेछ। पाकिस्तानी प्रधानमन्त्री नेपाल आउनेबित्तिकै भारतीय सञ्चार माध्यमले भारतको ‘कूटनीतिक असफलता’ भनेका थिए। यही कुरा क्रिकेटका हकमा लागू हुनसक्छ।

    बंगलादेश, श्रीलंका र अस्ट्रेलियासँग पनि कूटनीतिक पहल गरेर एकदिवसीय खेल्ने वातावरण बनाउन सकिने अग्रवाल बताउँछन्।

    उनका अनुसार नेपालले राखेको प्रस्ताव सम्बन्धित देशको क्रिकेट बोर्डले स्वीकार गरे आइसिसिले उक्त देशसँग एकदिवसीय खेल्न अनुमति दिन्छ।

    सन् २०१४ को विश्वकप टी–२० प्रतियोगिता खेल्न छानिएपछि नेपाली टिमले चार वर्षका लागि एकदिवसीय मान्यता पाउनु अर्को ठूलो फड्को हो।

    नेपालले पहिलोपटक सन् १९९६ मा बंगलादेशविरुद्ध एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला बंगलादेश पनि एसोसिएट राष्ट्र नै थियो। नेपालले तीनपटक एकदिवसीय विश्वकप छनोट खेलेको छ।

    हाल नेपालको क्रिकेट हेर्ने निकाय नभएकाले नेपालले निकट भविष्यमै अन्तर्राष्ट्रिय शृंखला खेल्ने सम्भावना भने कम छ। आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीले २०७३ वैशाखमा निलम्बन गरेको थियो।

    यी हुन् एक दिवसीय मान्यता प्राप्त १६ राष्ट्र

    स्थायी मान्यताप्राप्त एकदिवसीय टिम

    • अस्ट्रेलिया – १९७१
    • इंग्ल्यान्ड– १९७१
    • न्युजिल्यान्ड– १९७३
    • पाकिस्तान– १९७३
    • वेस्ट इन्डिजन– १९७३
    • भारत– १९७४
    • श्रीलंका– १९८२
    • दक्षिण अफ्रिका– १०९१
    • जिम्बावे– १९९३
    • बंगलादेश– १९९७
    • अफगानिस्तान– २०१७
    • आयरल्यान्ड– २०१७

    अस्थायी एकदिवसीय मान्यता पाउने टिम

    • स्कटल्यान्ड – २००६ देखि २०२२ सम्म
    • युएई – २०१४ देखि २०२२ सम्म
    • नेदरल्यान्ड्स – २०१८ देखि २०२२ सम्म
    • नेपाल – २०१८ देखि २०२२ सम्म

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij