प्रकाशित मिति : शनिबार, बैशाख १५, २०७५
हँसिया खुर्पा कुटो कोदालो समाउन तयार छु म
आफै श्रमिक भएर धरहरा बनाउन तयार छु म
सुन फल्छ पौरख गरे माटो छोएर त हेरौं साथी
देशको लागि रगत पसिना बगाउन तयार छु म
छट्पटिंदा हुन् कति बटुवा यहाँ काकाकुल झैं
घाँसी भै भानुभक्तको कुवा खनाउन तयार छु म
चाहिंदैन मीठो मसिनो सुकिलो स्वादिलो केही
सिस्नु र ढींडो खाएरै दिन कटाउन तयार छु म
आफै नमरी स्वर्ग नदेखिने रहेछ दुनियाँमा हेर
जलेर आफू अन्धकार जगको हटाउन तयार छु म
स्वीजरल्याण्ड अनि नैनीताल देहरादून पर्दैन
यहीं सगरमाथा पोखरा हेरी रमाउन तयार छु म
हुँदैन बेच्नु इमान जमान सस्तो लोकप्रियताका लागि
नेपाली भै नेपालको सम्मान कमाउन तयार छु म
-खेमराज मल्ल
-घोराही, दाङ 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij