बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

गोकुलेश्वर बजार बाढीको जोखिममा

  • प्रकाशित मिति : सोमवार, साउन ७, २०७५



  • बैतडी, ७ साउन (रासस) ः वर्षात्को समय जारी रहँदा बैतडी दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ ।

    बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् । बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ । नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
    पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन् । हरिनगरमा विसं २०५० मा दार्चुला जोड्ने सडकले गोकुलेश्वर छोएसँगै बगरमा घर बन्ने क्रम बढेको हो । यहाँ करीब चार दर्जन घर बनिसकेका छन् । ४० परिवार रहेको पारि दार्चुलातर्फको वादीबस्ती पुरानो बस्ती हो । तीमध्ये अधिकांश छ वर्षयता बनेका हुन् ।

    दार्चुलामा पर्ने गोकुलेश्वरमा भने अस्पताल, विमानस्थल, क्याम्पसलगायत सरकारी र निजी संरचना छन् । वादीबस्तीको माथिसम्म तटबन्ध गरिएको छ । वारि बैतडीमा तटबन्ध नहुँदा नदी सर्दै आएको छ । “कति बेला नदी बजारमा पस्छ सधैँ डर भइरहन्छ,” स्थानीय व्यापारी सुरेश श्रेष्ठले भन्नुभयो, “पारिको तटबन्ध र वारि छेउबाटै घर बनेकाले जोखिम बढी छ ।”

    माथिल्लो बस्ती सनगाउँ र देवगाउँबाट आउने पहिरोले अर्को जोखिम थपिएको छ । पहिरोमा सधैँ लेदो बग्ने गरेको छ । पहिरोले खोला पुरिएर बजारमा पस्ने खतरा छ । बर्खामा घरको आधा तलासम्म पानी उक्लिने बजार पस्ने बाटोसमेत बन्द हुने गरेको स्थानीय बताउँछन् ।

    वादी परिवारको अन्य ठाउँमा सर्ने विकल्प छैन । दुई परिवारबाहेक कसैको नाममा जग्गा छैन । हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा बढ्न थाल्छ । बर्खामा छ मिटरसम्म गहिरो बन्ने वर्षामापन केन्द्रको तथ्यांकमा छ ।

    पहाडी क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा बाढीको पूर्वसूचना संयन्त्र स्थापना गर्न सकिएको छैन । गैरसरकारी संस्थाको सहयोगमा माथिल्लो तटीय क्षेत्रका समुदाय र प्रहरीचौकीमा विपद् पूर्वसूचनाका लागि सञ्चार संयन्त्र राखे पनि प्रभावकारी हुन सकेको छैन ।

    स्थानीयतहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनी घर बनाउने क्रम रोकिएको छैन । जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ ।

    खोलाले करीब २०० रोपनी खेत बगरमा परिणत गरेको डिलासैनी वडा नं १ का अध्यक्ष अक्कलबहादुर रानाले बताउनुभयो । पानीको बहावका कारण आएको बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिँदा खानेपानीको समस्या भएको उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij