बुकहिल पब्लिकेशनस्ले मंगलबार राजधानीमा पुस्तकको पहिलो लुकसँगै विमोचनको मिति सार्वजनिक गरेको हो। पब्लिकेशन्सका अध्यक्ष भूपेन्द्र खड्काले भदौ अन्तिम साता न्याय बजारमा उपलब्ध हुने जानकारी दिए।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले मुलुकको पहिलो महिला प्रधानन्यायाधीश हुनुको नाताले अरुलाई प्रेरणा दिन पुस्तक लेखको बताइन्।
त्यस्तै आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई पुस्तकमा उतारेको उनले जानकारी गराइन्।
‘३० वर्ष मैले गरेको वकालत र ८ वर्ष न्यायालयमा बिताएको समयको हरहिसाब पुस्तकका समेटेको छु,’ उनले भनिन्।
न्यायालयको नेतृत्व गरिसकेको व्यक्तिले पुस्तक लेख्ने चलन नभए पनि न्यायालयमा ल्याउनुपर्ने परिवर्तन र जनताले यसबारे जान्न पाउनुपर्ने भएकाले किताब लेख्न हौस्याएको कार्कीले बताइन्।
उनका अनुसार पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि फास्ट ट्रयाक घोटालासम्मका १० वटा मुद्दा अटाएको छ। ‘किताब लेख्दा न्यायालयका धेरै कुरा बाहिर आउँछन् । यस्तो नगर्दा राम्रो होला भनेर धेरैले सुझाएका थिए। तर, राम्रो कुराको गापनियता हुँदैन। यसबारे अरुले थाहा पाउनुपर्छ भन्ने लागेर किताब लेखेको हूँ,’ उनले भनिन्।
आफूले न्यायालयमा बिताएका समयको फेहरिस्त मात्रै नभएर आफ्नो जीवनको रंगहरुको संगालो भएको उनले जानकारी गराइन्।
कार्यक्रममा कार्कीका श्रीमान् दुर्गा सुवेदीले आत्मकथा भए पनि न्याय कर्मको लेखाजोखा भएको बताए। यो फगत आत्मकथा मात्रै नभएर प्रधानन्यायाधीशको कलमबाट लेखिएको न्यायालयकै पहिलो ऐतिहासिक दस्ताबेज भएको उनको भनाइ थियो।
बुकहिलले बजारमा ल्याउन लागेको ३ सय ९२ पृष्ठको न्यायको पातलो गाताको मूल्य ६ सय ५० र हार्ड कभरको मुल्य ९०० सय रूपैयाँ राखेको छ।