प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५
काठमाडौं, असोज ५ । सरकार र हड्तालमा उत्रिएका चालकहरुबीच ८ बुँदे सहमति भएपछि चार दिनदेखि ठप्प रहेको सार्वजनिक यातायात सुचारु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार दिउँसो भएको वार्तामा चालकहरुले राखेका मागहरु सम्बोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
सार्वजनिक यातायातका चालक तथा मजदुरहरुले गत महिना जारी अपराध संहितामा गरिएको व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।
उक्त कानुनी प्रावधान संशोधन गर्नुपर्ने भए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयसँग समन्वय गरेर अघि बढाउने सहमति भएको हो ।
अरु मागहरुसम्बन्धी ज्ञापनपत्र गृह, भौतिक पूर्वाधार तथा यातायात र कानुन मन्त्रालयमा पठाउने सहमति पनि भएको छ ।
आन्दोलनको संयोजक रहेका वसन्त शर्मा, सहसंयोजक अर्जुन अधिकारीसहितको टोली बिहीबार राति काठमाडौं आएको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले चालकहरुले उठाएका माग सम्बोधनका लागि अध्ययन गर्ने प्रतिबद्धता जनाएको र उनीहरु सवारी–साधन सन्चालन गर्न सहमत भएको जानकारी दिए ।
वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव अधिकारी, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र कानुन मन्त्रालयका सचिव राजीव गौतम सहभागी थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij