प्रकाशित मिति : मङ्लबार, अशोज २३, २०७५
दसैँ लक्षित खसी, बोका, भेडा, च्याङ्ग्रा जाँच्न पशु चिकित्सकसहितको टोली खटिने भएका छन्।
बुधबारदेखि काठमाडौंमा विक्री हुने रोगी र प्रयोग गर्न अयोग्य चौपायाको पहिचान गरेर विक्री नियन्त्रण गर्न टोली खटिने भएको महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले बताइन्।
‘व्यवसायीसहितको टोलीले सुधारका काम गर्ने र नियमनकारी निकायको टोलीले अनुगमन गर्नेछन्,’ मंगलबार महानगरमा भएको छलफलमा उनले भनिन्, ‘यो टोलीले विक्रीका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गर्नेछ।’
चौपायाको स्वास्थ्य परीक्षणका लागि १ जना पशु चिकित्सकका साथमा नेपाल प्रहरी, महानगर प्रहरी, जनस्वास्थ्य महाशाखा, ट्राफिक प्रहरीको टोली खटिने छन्।
यस क्रममा चौपाया निरोगी भए सिङमा हरियो चिन्ह लगाउने छ भने रोगी भए रातो चिन्ह लगाउने छ। उपभोक्ताले चौपाया खरिद गर्दा सिङमा हरियो रङ लगाइएका खसी, बोका, भेडा च्याङ्ग्रा खरिद गर्न महानगरले उपभोक्तालाई आग्रह गरेको छ।
उनले स्वच्छ, स्वस्थ्य र गुणस्तरीय मासु उत्पादन, प्रशोधन तथा विक्री वितरण व्यवस्था सबैको साझा मुद्दा बन्नु पर्नेमा जोड दिइन्।
‘अनुगमन तथा स्वास्थ्य परीक्षण कार्यको लक्ष्य, कसैलाई लाभ र कसैलाई हानी पुर्याउनु होइन। खान योग्य मासुको प्रवर्द्धनका लागि सबै मिलौं।
तत्काल सुधार गर्न सकिने काम अहिल्यै सुधारौं। अहिले सम्भव नहुने कामलाई नियमित कामका रूपमा अघि बढाऔं। मासुजन्य खाद्यवस्तुको उत्पादन तथा विक्री वितरणमा कुनै पनि प्रकारका सम्झौता गर्नु हुँदैन,’ उपप्रमुख खड्गीले भनिन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij