प्रकाशित मिति : बुधबार, अशोज २४, २०७५
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको विरोधमा सभापति नैनसिंह महरइतर नेविसंघ एकजुट भएको छ।
उमेरहद तोकेर पार्टीले नेविसंघको १२ औं महाधिवेशन भाँड्ने चलखेल गरेको भन्दै खबरदारी गर्न महाधिवेशन चाहने समूहको नाममा महरइतर नेविसंघ मंगलबार एक ठाउँमा देखिए।
दसैँ–तिहार तथा छठको शुभकामना आदानप्रदान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका विद्यार्थी नेता मनोजमणि आचार्यको संयोजनमा प्रदर्शनी मार्गस्थित वाल्मिकि क्याम्पसमा भएको कार्यक्रममा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला समूहका नेविसंघ नेता तथा महामन्त्री कुन्दनराज काफ्लेले पनि ऐक्यवद्धता जनाए।
पौडेल र सिटौलाले नेविसंघमा उमेरहद तोक्न नहुने अडान लिएका छन्। त्यस्तै नेविसंघका नेता आचार्य र महामन्त्री काफ्ले पनि उमेरहद तोक्न नहुनेमा छन्।
‘उमेरहद तोकेर नेविसंघको महाधिवेशन खल्वल्याउन खोजियो। सभापति शेरबहादुर देउवा नै महाधिवेशन होस् भन्ने पक्षमा हुनुहुन्न’, महामन्त्री काफ्लेले भने, ‘उमेर हद लगायो भनेर हाम्रो रोदन होइन। नेतृत्व महाधिवेशनबाटै चयन हुनुपर्छ भन्ने चेतावनी हो।’
सभापति देउवाले भातृ तथा शुभेच्छुक संघसंस्था कमजोर बनाउँदै लगेको काफ्लेको आरोप छ।
नेविसंघले कात्तिक १६ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। उमेरहदबारे मौन राखेर विधान पार्टीलाई बुझाए पनि सहमहामन्त्री प्रकाशशरण महतले उमेरहदको प्रस्ताव राखेर महाधिवेशनकै वातावरण खल्वल्याउन खोजेको काफ्लेले आरोप लगाए।
नेविसंघले दुई वर्षअघि ११ औं महाधिवेशनकै बेला १२ औं महाधिवेशनमा उमेरहद लगाउने निर्णय गरेको थियो। सो निर्णयलाई पार्टीले कार्यान्वयनमा ल्याएको सभापति महरले बताए। तोकिएको समय कात्तिकमै महाधिवेशन हुने उनले बताए। महर नेतृत्वको नेविसंघको म्याद मंसिर २ मा सकिँदैछ।
नेविसंघ नेता दीपक भट्टराईले दस वर्षसम्म महाधिवेशन नगराएर विद्यार्थी नेताहरूको उमेर घर्काउने तर अहिले उमेरहद लगाउनु उपर्युक्त नहुने तर्क गर्छन्।
‘३२ वर्षे उमेरहद लगाएर पनि नेतृत्व महाधिवेशन गर्नेतर्फ केन्द्रित छैन’, उनले भने, ‘हिजोका दिनमा दस वर्षसम्म महाधिवेशन भएन। हामी बूढा भयौं होला। तर ३२ नपुगेका साथीले दुई–दुई वर्षमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने हेक्का राख्नुस्।’
नेविसंघमा ३२ वर्ष नाघेकाले उमेरहद विवाद गरिरहँदा ३२ मुनिका नेताहरू भने पार्टीको निर्णय सही भएको बताउँछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij