प्रकाशित मिति : बुधबार, अशोज २४, २०७५
नेपालको आन्तरिक उडानमा अग्रणी निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ।
अहिले प्राइभेट कम्पनीको रुपमा रहेर आन्तरिक र क्षेत्रीय उडान गरिरहेको एयरलाईन्सले अबको ३ वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट उडान सुरु गर्ने एयरलाईन्सका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिकको रुपमा लगिने बस्नेतले बताए।
‘अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिक कम्पनीमा लैजान्छौँ, आन्तरिक उडान भने पब्लिकमा जाँदैनौँ’ उनले भने ‘हामी ३० प्रतिशत मात्र शेयर राख्छौँ तर आन्तरिक उडान भने प्राइभेटबाटै गर्छौँ।’
नेपालमा हालसम्म कुनै पनि हवाई सेवा प्रदायक कम्पनी पव्लिकमा छैनन्।
अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले अहिले काठमाडौंबाट भारतका केही सहरमा उडान गरिरहेको छ। पोखरा विमानस्थल संचालनमा आएपछि पोखरलाई आधार बनाएर सुरुमा छिमेकी मुलुकका विभिन्न सहरमा उडान गरिने वस्नेतले जानकारी दिए।
रुट परमिट तथा प्रक्रियाका हिसाबले भारतमा पहिला उडान हुने भएपनि पोखराबाट चीनमा पनि उडान गरिने उनले जानकारी दिए। क्षेत्रीय हुँदा लामो दुरीमा उडान गर्ने योजना बनाएको बुद्धले सन् २०२१ मा विमानस्थल संचालन हुने र त्यही वर्षबाट जहाज उडाउने योजना बनाएको छ।
‘इपिसिएफ मोडलबाट निर्माण भइरहेको विमानस्थल तोकिए भन्दा छिटै निर्माण होला त्यसपछि हामी उडान सुरु गर्छौ यो बीचमा तयारीका लागि हामीसँग प्रसस्त समय पनि छ’ एटिआर जहाज चलाउन थालेको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बस्नेतले भने।
अबको १० वर्षभित्र २५ लाख पर्यटक पोखराबाट इन आउट गराउनसकिने बुद्ध एयरको अध्ययनले देखाएको छ। त्यसरी आउने २५ लाख पर्यटकमा कम्तिमा पनि ३० प्रतिशतलाई बुद्ध एयरले सेवा दिनेगरी बुद्ध एयरले योजना बनाएको छ।
आन्तरिक उडानमा दुर्गम क्षेत्रमा नजाने घोषणा गरिसकेको एयरले अवको एकमात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय उडान भएको बताएको छ। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भएपनि पर्यटकीय क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न सकिने वस्नेतको भनाइ छ।
‘त्यसैले हामी पोखरालाई अर्जुनदृष्टि बनाएका छौं सीमाका बाबजुद पनि’ उनले भने।
आजदेखि २१ वर्ष पुरा गरेर २२ औं वर्षमा प्रवेश गरेको एयरलाइन्सले एटिआर जहाज उडान थालेको १० वर्ष पुगको छ। यही अवसरमा काठमाडौं आएका एटिआरका हेड अफ सर्भिस बिली ओहले बुद्ध एयरले यात्रुको सेवा र व्यवसायमा पाएको सफलता लोभलाग्दो भएको बताए।
यात्रुको सुरक्षा र सेवामा एयरलाइन्सले गरेको उत्कृष्ट प्रदर्शनबाट दक्षिण एसिया क्षेत्रमै एटिआरको राम्रो छाप रहेको उनको भनाइ छ।
६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९००‘डी’ जहाज रहेको एयरलाइन्सले आन्तरिक उडानमा एटिआर नै उडाने भएको छ। नेपालको भौगोलिक अवस्थाअनुसार एटिआर नै उपयुक्त जहाज भएकोले परिवर्तनको पक्षमा नभएको वस्नेतले जानकारी दिए।
१० वर्षको अनुभवले बुद्ध एयर एटिआरबाटै नेपालमा हवाई यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सकिने निष्कर्षमा पुगेको उनको भनाइ छ।
भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर र पोखरामा उडान गरिरहेको एयरलाइन्सले काठमाडौंबाट भारतको वानारसमा नियमित उडान सुरु गरेको छ।
बुद्धले पोखराबाट भैरहवा र भरतपुर उडान सुरु गरिसकेको छ भने नेपालगंज पनि उडान गर्ने घोषणा गरिसकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij