प्रकाशित मिति : बुधबार, अशोज ३१, २०७५
चितवन, असोज ३१ । चितवनमा बुधबार दिउँसो मारुती भ्यान र दूध बोक्ने ट्यांकर ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत् इच्छाकामना गाउँपालिका–४, केबलकारनजिक पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ गइरहेको दूध बोक्ने बा१घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा सो दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
दिउँसो १२ः४० बजेतिर भएको दुर्घटनामा परी ट्यांकर चालक सुन्दर खड्का, धादिङ, बैरेनी–६ बस्ने ४ वर्षीय बालक रोशन गैरेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
अर्का एकजना मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए । उनीहरुको शव भरतपुर ल्याइएको छ ।
दुर्घटनामा परी चारजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा धादिङ, बैरेनी–६ का १९ वर्षीय रमेश रोक्का, सोही स्थानका १७ वर्षीय विक्रम गैरे, १९ वर्षीय सन्दीप मल्ल र अर्का एकजनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij