प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०७५
सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ फिल्ममा अभिनेत्री पूजा शर्मासँग नयाँ अभिनेताको जोडी बाँधिने भएको छ।
फिल्ममा पूजाको जोडीका रूपमा सोनम तोप्देन नायकका रूपमा तय भएका छन्। फिल्ममा अर्का एक नायक पनि रहनेछन् जसको टुङ्गो लगाउन बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
नेपाली फिल्ममा डेब्यू गर्न लागेका सोनम चर्चित यूट्यूबर हुन्। युट्यूबमा उनले गाएका कभर गीतहरू चर्चित रहेका छन्।
सोनमले गाएको बलिउड फिल्म ‘जब ह्यारी मेट सेजल’ को ‘हवाए’ गीतलाई करिब ३७ लाख बढीले हेरेका छन् । उनले नेपाली, हिन्दी र अंग्रेजी गीतका थुप्रै कभर गीत गाएका छन् । उनी भारतको मनालीमा बस्दै आइरहेका छन् ।
गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’बाट सापटी लिइएको फिल्मको हाल गीत रेकर्डिंग चलिरहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ। पुष या माघबाट फिल्म छायाँकनमा जानेछ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij