प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५
वेष्ट इण्डिजविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारतले फराकिलो जित निकालेको छ।
सोमबार भएको चौथो खेलमा भारतले वेष्ट इण्डिजलाई २२४ रनको फराकिलो अन्तरले हराउँदै शृंखलामा २-१ ले अग्रता लिएको हो।
मुम्बईमा भारतले दिएको ३७८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ३६.२ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटियो।
वेष्ट इण्डिजका जासन होल्डरले अविजित ५४ रन जोडे भने केमो पाउलले १९ रन तथा मार्लोन स्यामुएल्सले १८ रन जोडे। वेष्ट इण्डिजलाई सस्तैमा रोक्न भारतका खलीलल अहमेद र कुलदिप यादवले समान ३/३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ५ विकेट गुमाउँदै ३७७ रन बनाएको थियो।
भारतको उच्च योगफलका लागि रोहित शर्मा र अम्बाती रायडुले शतकीय इनिङस खेले। रोहितले १६२ रन बनाउँदा रायडु १०० रनमा आउट भए।
यस्तै शिखर धवनले ३८ रन जोड्दा महेन्द्र सिंह धोनीले २३ तथा कप्तान विराट कोहलीले १६ रन जोडेका थिए। वेष्ट इण्डिजका केमर रोचले २ विकेट लिए ।
भारतीय क्रिकेट टोलीका ओपनरसमेत रहेका शर्माले भारतीय पुर्व कप्तान सचिन तेन्दुलकरको अर्को रेकर्ड तोडेका छन्।

भारत र वेस्ट इन्डिजबीचको चौथो वान डे खेलमा १ सय ६२ रन बनाएका रोहितले २० चौका र ४ छक्का प्रहार गरेका थिए। रोहितले ४ छक्कासँगै सचिनको रेकर्ड तोडेका हुन्। सचिनले वान डे खेलमा कुल १ सय ९५ छक्का प्रहार गरेका छन्। तर रोहितले आज ४ छक्का प्रहार गर्दै आफ्नो वान डे करियर १ सय ९८ छक्का पुर्याएका छन्। सचिनको १ सय ९५ छक्काको रेकर्ड तोड्दै भारतीय वान डे क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी बन्न पुगेका छन् ।
यसअघि रोहितले पहिलो खेलमा १ सय ५२ रन प्रहार गर्दै सर्वाधिक पटक १ सय ५० रन कटाउने भारतीय खेलाडी सचिनको रेकर्ड तोडेका थिए। भारतीय ब्याटम्यानमा वान डे खेलमा सर्वाधिक छक्का प्रहार गर्ने सूचिमा महेन्द्र सिंह धोनीको नाम शीर्ष स्थानमा रहेको छ। धोनीले हाल सम्म २ सय १८ छक्का प्रहार गरिसकेका छन्।
सर्वाधिक छक्का बनाउने क्रिकेटरमा पाकिस्तानका शाहिद अफ्रिदी छन्। उनले ३५१ वटा छक्का प्रहार गरेका छन् भने २७५ वटा छक्का वेस्टइण्डिजका क्रिस गेलको नाममा छ। धोनीभन्दा अगाडि तेस्रो नम्बरमा श्रीलंकाका सनत जयसूर्या छन्। उनले ४३३ पारिमा२७० छक्का हिर्काएका छन्।
३१ वर्षिय शर्माको सन् २०१८ मा पाँचौ एक दिवसीय सतक हो। सन् २०१८ मा सबैभन्दा बढी सतक प्रहार गर्ने खेलाडी विराट कोहली हुन्। उनले ६ सतक प्रहार गरेका छन्।
वानडेमा तीन दोहरो शतकसमेत प्रहार गरिसकेका रोहितले सातौं पटक १५० रनको स्कोर कटाएका हुन्। सबैभन्दा बढी १५० रन कटाउने उनी विश्वकै पहिलो खेलाडी हुन्। उनको पछि दोस्रो नम्बरमा सचिन तेन्दुलकर छन्। उनले पाँच पटक १५० रनको स्कोर कटाएका थिए।
यो जितसँगै भारत पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ। यसअघि पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल बराबरी भएको थियो। तेस्रो खेल वेष्ट इण्डिजले जितेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij