प्रकाशित मिति : बुधबार, कार्तिक २८, २०७५

सुर्खेत । ठेकेदारबीचको विवादका कारण सुर्खेतको काँक्रेविहार पुनर्निर्माणमा ढिलाइ भएको छ ।
२०७२ सालमा पुनर्निर्माण सुरु गरिए पनि ठेकेदारको विवादका कारण काम अलपत्र बनेको हो ।
ऐतिहासिक र धार्मिक महत्व बोकेको महत्वपूर्ण सम्पदाको पुनर्निर्माण नहुँदा पर्यटकसमेत प्रभावित बनेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट साढे तीन किलोमिटर दक्षिणतर्फ काँक्रेविहार रहेको छ ।
धार्मिक किम्वदन्ती अनुसार पञ्चपाण्डवको वासस्थान मानिने काक्रेविहारमा राजा अशोक मल्लले विसं १३२५ मा काँक्रेविहार मन्दिर निर्माण गरेको तथ्य भेटिन्छ ।
जहाँ बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रालगायत विभिन्न मुर्तिहरु रहेका छन् ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको काक्रेविहारको २०७२ साल असार ४ गते देखि ३ वर्षमा सम्पन्न गरिसक्ने गरी निमार्ण कार्य सुरु गरिएको थियो ।
त्यसको पुरातत्व विभागले सिद्धबाबा कन्स्ट्रक्सन प्रालिलाई ९ करोड ६५ लाख ६६ हजार रुपैयाँमा ठेक्का दिएको थियो ।
तर आपसी ठेकेदारबीच लेनदेनको समस्याले निर्माण कार्य रोकिएको छ । यसमा सम्बन्धित निकायले चासो दिनुपर्ने आन्तरिक पर्यटकको माग छ ।
मन्दिरको पुननिर्माण गरी स्तरोन्नति गरे पर्यटन व्यवसाय फस्टाउन सकिने व्यापक सम्भावना रहेको छ ।
यसलाई बौद्ध सक्रिटका रुपमा निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ ।
निर्माण जिम्मा पाएको काठमाडौंस्थित सिद्धबाबा कन्स्ट्रक्सन प्रालिका दिपक कार्की र कालिगढको काम गर्ने ठेकेदार तिर्थ कश्यपको आपसी लेनदेनको समस्याले निर्माण कार्य बीचमा अलपत्र परेको वीरेन्द्रनगर नगरपालिका ९ का वडाध्यक्ष सुरेश मानान्धर बताउँछन् ।
दैनिक २ सयको हाराहारीमा आन्तरिक तथा बाहय पर्यटकले अवलोकन गरिरहेको यस ठाउँमा अरु थुप्रै पर्यटकलाई आकर्षण गर्न सकिने यथेष्ट संभावनाहरु छन् ।
तर पुनर्निमाण नहुँदा अस्तव्यस्त र लथालिङ्गजस्तै बनेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij