प्रकाशित मिति : बिहिबार, मंसिर ६, २०७५
काठमाडौं, ६ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधवार राति करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । टिपरले ठक्कर दिएर घाइते भएका उनलाई टिपरले ब्याक गरेर किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको हो ।

तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई हाल ललितपुरको चाँगाथली विष्णुटोल बस्दै आएका मगर सवार मोटरसाईकललाई ठक्कर दिएको हो । बालकोटको मेरिगोल्ड ईङ्गलिस स्कुल अगाडि उनको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । प्रत्यक्षदर्शी राजाराम खत्रीले टिपरले घाइते घाइते मगरलाई जानीजानी टिपरले किचेर मारेको बताए । उनले भने, ‘टिपर हुर्इँकिएर आयो, बालकोटतर्फ जाँदै गरेको मोटरसाइकलाई ठक्कर दियो, मोटरसाइकल लडेको देखेर हामीले ए ए भन्दाभन्दै टिपरले ब्याक गरेर फेरि किच्यो।’
स्थानीयले टिपर तोडफोड गर्न लागेपछि प्रहरीले लाठीचार्ज गर्दा बालकोट केहीबेर तनाबग्रस्त बनेको थियो । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भने ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएको र चालक तथा टिपर मालिकबारे जानकारी नआएको बताए। तर स्थानियले भने प्रहरीले नै टिपर चालकलाई भगाएको आरोप लगाएका छन् । घट्नास्थलमा राति सवा १० बजेसम्म आक्रोसित स्थानीयले टिपर र प्रहरी विरुद्ध नाराबाजी गर्दै टिपर बन्द गर्न माग गरे।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij