प्रकाशित मिति : बुधबार, मंसिर १९, २०७५
मधु पौडेल,नेपालगंज ,२०७५÷०८÷१९
बाँकेमा सञ्चालित सरकारी, निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिक, डाइग्नोष्टिक सेन्टर र डेन्टल क्लिनीकहरुको सेवा शुल्कमा एकरुपता ल्याउन सरोकारवालहरुबिच छलफल गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना बुधबार नेपालगन्जमा सेवा शुल्कमा कसरी एकरुपता ल्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । बिरामी चेकजाँच गर्दा विभिन्न स्वास्थ्य संस्थाले मनपरी रुपमा शुल्क लिने गरेको जनगुनासो आएपछि शुल्कमा एकरुपता ल्याउनको लागि छलफल कार्यक्रम गरिएको स्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
स्वास्थ्य सेवा धरासायी बनाउने प्रकारको मूल्य निर्धारणमा सहमत हुन नसकिने नीजि तथा सामुदायिक अस्पताल, पोलिक्लिनिक डाइग्नोष्टिक सेन्टर तथा डेन्टल क्लिनिकका संचालकहरुले बताए ।
सरकारी मुल्य निर्धारण अनुसार आफुहरुले सेवा सुविधा दिन नसक्ने उनीहरुले जानकारी दिए । हाल स्वास्थ्य कार्यालय बाँकेमा १७ अस्पताल, १२ पोलिक्लिनीक, ४० प्याथालोजी तथा डाइग्नोष्टिक सेन्टर, ५७ स्वास्थ्य क्लिनीक, ६ एक्सरे, ५ भिडियो एक्सरे, ३ आँखा अस्पताल, ११ दात क्लिनीक र २ फिजियो केयर दर्ता भएका छन् ।
सरोकारवालाहरु बिच भएको छलफलबाट सेवा शुल्कमा एकरुपता ल्याउनको लागि सरकारी, निजी अस्पताल, डाइग्नोस्टिक सेन्टर, पोलिक्लिनिक, ल्याब प्याथोलोजी, उपभोक्ता हकहित संरक्षण मन्च, डेन्टल क्लिनिक, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका, पत्रकार महासघ, उद्योग बाणिज्य संघ र औषधि ब्यबस्था बिभागका प्रतिनिधिहरु सदस्य रहने गरि शुल्क निर्धारण समिती गठन गरिएको छ ।
छलफल कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसी, औषधी व्यवस्था बिभाग बाँकेकी प्रमुख निना श्रेष्ठ नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले आफ्नो भनाई राखेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij