प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५
मधु पौडेल,नेपालगंज २०७५÷०८÷२७
बाँकेको राप्तीसोनारी गाउँपालिका बाख्रापालनको पकेट क्षेत्र बन्दै गएको छ । गाउँपालिकाका अधिकांश महिलाले बाख्रापालन सुरु गरेपछि सो क्षेत्र बाख्रापालनका लागि पकेट क्षेत्र बन्दै गएको हो । राप्तीसोनारी गाउँपालिकाका महिलाले मात्रै गएको एक वर्षमा साढे तीन करोड रूपैयाँभन्दा बढीको खसीबोका बिक्री गरेका छन् ।
गाउँपालिकाका महिलाले स्थापना गरेका १० वटा सहकारीमार्फत उनीहरूले साढे तीन करोडभन्दा बढी रूपैयाँका खसीबोका बिक्री गरेका हुन् ।
सहकारीबाट ऋण लिएर व्यावसायिक बाख्रापालन सुरु गरेका एक महिलाले वार्षिक झन्डै चार लाख रुपैयाँको खसीबोका बिक्री गर्न थालेको नयाँ सिर्जनशील सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष गंगा शाहले बताइन् ।
उनको सहकारीमार्फत महिलाले ३ करोड १२ हजार रुपैयाँका खसी बोका बिक्री गरिसकेका छन् । अन्य सहकारीमार्फत पनि ५० लाख बढीको खसी बोका बिक्री हुन्छन् ।
भारतबाट हुने खसीबोकाको आयात कम गर्न महिलाले महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष शाहले बताइन् । गाउँपालिकाका महिलाले पालेका खसीबोका काठमाडौं, पोखरा, विराटनगरलगायतका शहरमा जाने गरेका छन् ।
राप्तीसोनारी गाउँपालिकाबाट मात्र मासिक कम्तीमा ५ सय खसीबोका बाहिर जाने गर्दछ । महिलाहरुले जिउँदो खसी प्रतिकिलो ३५० देखि ३८० रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन् ।
खसीको ग्रेडिङ गरेर बिक्री गर्दै आएको परिवर्तन महिला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले बताईन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij