प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५
मधु पौडेल, बाँके २०७५÷०९÷०३
अंग्रेजी नयाँ बर्षको पहिलो दिन नेपालगन्जमा म्युजिक फेस्टिबलका रुपमा मनाइने भएको छ । नेपालगन्जको गनापुरस्थित नमस्ते भिलेज रिसोर्ट प्रा.लि.मा यस पटकको अंग्रेजी नयाँ बर्षको पहिलो दिन म्युजिक फेष्टिबलका रुपमा मनाइने भएको हो ।
चर्चित राष्ट्रिय कलाकार गायक राजेश पायल राई, कमल खत्री, सन्दिप क्षेत्री, सुरज थापादेखि सुजाता पाण्डेसम्मका कलाकारहरुको उपस्थितिमा न्यू इयर इभ मनाइने भएको हो ।
नयाँ बर्षलाई भव्य रुपमा स्वागत गर्न बलामी फिल्म इन्टरटेन्मेन्टले म्युजिक फेष्टिबल आयोजना गर्न लागेको नमस्ते रिसोर्टका प्रबन्ध निर्देशक पशुपति दुलालले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिए ।
यही पुष १६ गते अव गुञ्जिने छ नेपालगन्ज भन्ने नाराका साथ म्युजिक फेष्टिबल राखिएको आयोजक टिमले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
अहिलेसम्मकै सांस्कृतिक कार्यक्रमहरुमा उत्कृष्ट आयोजनाका रुपमा भव्यता दिइने तयारी रहेको दुलालले बताए । उनले नेपालका ६ वटा मुख्य शहरमा यस्तो फेस्टीबल गर्न लागिएको हो जसअनुसार नेपालगन्जमा पहिलो पटक रहेको जानकारी गराए ।
राष्ट्रिय कलाकारका साथ स्थानिय कलाकार र ब्याण्ड समेत सांस्कृतिक कार्यक्रममा रहने बताईएको छ । कार्यक्रम प्रवेशका लागि भिआईपीलाई २ हजार, सर्बसाधारणका लागि १ हजार र विद्यार्थीका लािग ५ सय टिकट दर राखिएको आयोजकले जनाएको छ ।
फ्राइडे नाइट लाइभका रुपमा नमस्ते भिलेज रिसोर्टले गनापुरमा प्रत्येक शुक्रबार सांस्कृतिक प्रस्तुति आयोजना गर्दै आएको छ ।
सांस्कृतिक कार्यक्रम वेलुका ४ बजेदेखि राती २ बजेसम्म चल्ने छ । सोही दिन ढाका टोपी दिवस रहेको हुनाले सबैलाई ढाका टोपी लगाएर आउन समेत आग्रह गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij