आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टिच नेपालको विवादास्पद विज्ञापन : जागिर खान ‘क्रिस्चियन हुनैपर्ने’ शर्त

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५



  • ३ पुस, काठमाडौं । कुनै संस्थाले कर्मचारी आवश्यकताको सूचना जारी गर्नु र उम्मेदवारको योग्यता तोक्नु सामान्य हो । तर, ललितपुरको एक एनजीओले निकालेको ‘भ्याकेन्सी’ भने यतिबेला निकै भाइरल भइरहेको छ । कारण हो, उम्मेदवारको न्यूनतम योग्यता ।

    ललितपुरको भनिमण्डलमा कार्यालय रहेको ‘टिच नेपाल’ नामक संस्थाले एक जना प्री–एसिस्टेन्ट टिचर ट्रेनर माग गरेको छ । उम्मदेवारको योग्यतामा क्रिश्चियन धर्म मान्ने व्यक्ति हुनुपर्ने उल्लेख छ । त्यतिमात्रै होइन, क्रिश्चियन शिक्षामा स्नातक तहसम्म अध्ययन गरेको पनि हुनुपर्ने र दरखास्त दिनेले कुनै चर्चको रिफ्रेन्स लेटर पनि पेश गर्नुपर्ने छ ।

    योग्यताको पहिलो नम्बरमा भनिएको छ, बर्न एगेन क्रिस्चियन । क्रिस्चियन धर्ममा बर्न अगेनको मतलब ‘आध्यात्मिक पुनर्जन्म’ भन्ने बुझिन्छ । ‘बर्न एगेन क्रिस्चियन’ हरुले जिसस क्राइस्टसँग प्रत्यक्ष र व्यक्तिगत सम्वन्ध राख्न सक्ने विश्वास गरिन्छ ।

    सीडीओ भन्छन्– कारबाही गर्छु

    जानकारहरुका अनुसार धार्मिक आस्थालाई प्रमुख मापदण्ड बनाएर विज्ञापन खोल्न पाइँदैन । यो संविधानमा व्यवस्था गरिएको समानताको हकविरुद्ध हुन्छ । समानताको हकमा सरकारले नागरिकहरुलाई उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव नगर्ने उल्लेख छ ।

    ‘क्रिश्चियन धर्म मान्नेहरुलाई मात्रै उम्मेदवार छनोटका लागि विज्ञापन गरिनुले अन्य धर्म मान्ने व्यक्तिहरुलाई विभेद गरिएको ठहर्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले अनलाइनखबरसँग भने, ‘हामी बोलाएर कारबाही गर्छौं ।’

    विवादास्पद विज्ञापनबारे सोध्दा टिच नेपालका कर्मचारीले यो आफूहरुकै भएको स्वीकार गरेका छन् । तर, संस्थाका सञ्चालकसँग कुराकानी गराउन भने अस्वीकार गरे ।

    टिच नेपाल कस्तो संस्था हो ?

    टिच नेपाल नामक संस्थाको कार्यालय ललितपुर उपमहानगरपालिका १३ भनिमण्डलमा छ । ललितपुर जिल्ला प्रशासन कार्यालयमा २०६९ मंसिर १५ गते कम्पनी ऐनअन्तर्गत दर्ता भएको छ । यसको सञ्चालकमा डा. महेन्द्र भट्टराईसहित ७ जना छन् । डा. भट्टराई युनाइटेड मिसन टु नेपाल (युएमएन)को बोर्डमा समेत छन् ।

    सुरुमा टिच नेपाल नामक संस्था हल्याण्डका नागरिक राइनी डेवीट र सिंगापुरका नागरिक ताम सोइङले स्थापना गरेका थिए । ताम सोइङ ज्ञानेश्वरको एक चर्चको पादरीकी श्रीमती हुन् ।

    पछि राइनी डेवीटले ईसीईसी (अर्ली चाइल्डहुड एजुकेसन सेन्टर) नामक फरेन विजनेस कम्पनी खोले । यो संस्था पनि ललितपुरको भनिमण्डलमै छ र, यसले पनि क्रिश्चियन धर्मको प्रचार गर्दै आएको छ ।

    टिच नेपालको मुख्य सञ्चालक हाल महेन्द्र भट्टराई छन् । यो संस्थाले क्रिश्चियन धर्मसँग सम्बन्धित शैक्षिक सामग्रीहरु उत्पादन र बिक्री वितरण गर्छ । साथै शिक्षकहरुलाई तालिम पनि सञ्चालन गर्दछ । यसका शैक्षिक सामग्रीहरु निकै महंगा छन् । शिक्षकहरुलाई दिइने तालिम पनि उस्तै महंगो छ । तालिम विदेशी नागरिकले दिन्छन् ।

    ‘नेपालका शिक्षकहरुबाट महंगो शुल्क असुलेर तालिम सञ्चालन गर्ने र तालिम दिने विदेशीलाई नै पैसा दिने यो संस्थाको काम हो,’ स्रोतले भन्यो, ‘यसबाट विदेशीलाई पोस्ने काम पनि भइरहेको छ ।’

    यो संस्थाले ‘सन्डे स्कुल टिचर्स ट्रेनिङ’ अन्तर्गत विभिन्न चर्चहरुमा बाइबल पनि पढाउँछ ।

    कर छुटको माग

    टिच नेपाल नामक संस्थाले यसै वर्ष नेपाल सरकारबाट कर छुट लिने प्रयास समेत गरेको खुलेको छ । त्यसका लागि उसले आन्तरिक राजश्व कार्यालयमा निवेदन दिएको थियो तर, कम्पनी ऐनअन्तर्गत विधान दर्ता रहेकाले उसले कर छुट पाएन ।

    त्यसपछि टिच नेपालका पदाधिकारीहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा विधान संशोधनको माग गर्दै निवेदन दिए ।

    तर, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले त्यसलाई अस्वीकार गरिदिए । ‘हामी नाफा खाँदैनौं, समाजसेवामा सक्रिय छौं भनेर दावी गर्दै कर छुटका लागि विधान संशोधनको माग गरेका थिए तर मैले हुँदैन भनेर फर्काइदिएँ,’ जोशीले अनलाइनखबरसँग भने, ‘यसको गतिविधि शंकास्पद छ । यो कारबाहीको भागीदार छ ।’

    धार्मिक मठमन्दिरसँग सम्बन्धित संस्था, जेष्ठ नागरिक, बालबालिका लगायतका क्षेत्रमा कार्यरत सामाजिक संस्थाहरुले भने कर छुट पाउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij