प्रकाशित मिति : शनिबार, पुस ७, २०७५
घोराहीबाट सल्यानको कपुरकोटमा अध्ययन भ्रमण गरी फर्कदै गरेका विद्यार्थी र शिक्षक चढेको गाडी कपुरकोट–तुलसीपुर खण्डको राम्रीनजिक दुर्घटना पर्दा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन् ।
ज्यान गुमाउनेहरुमा शिक्षकद्वय नरेश ओली र प्रदीप घिमिरे हुनुहुन्छ । रुकुमपूर्वको भूमे गाउँपालिका ६ तामारी घर भएका २८ बर्षीय ओली र घोराही १७ का २८ बर्षीय घिमिरेको निधन भएको प्रहरीले पुष्टि गरेको छ । ज्यान गुमाउने शिक्षक दुबै जना महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा पनि अध्यापन गर्नुहुन्थ्यो ।
त्यस्तै विद्यार्थी घोराही १४ का १७ बर्षीय बिजय जीएमको पनि निधन भएको छ । उहाँ राजमोका नेता रामबहादुर जीएमका छोरा हुनुहुन्छ । त्यस्तै चालक घोराही ३ का ३२ बर्षीय मदन केसीको निधन भएको छ । त्यस्तै दंगीशरण १ का ३० बर्षीय सञ्जीव रत्गैयाको पहिचान खुलेको छ ।
त्यस्तै १५ जना घाइते भएका छन् । जसमा ४ पुरुष र ११ महिला रहेका छने । घाइतेहरुको कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचार भइरहेको छ ।
ज्यान गुमाउनहरुमध्ये पाँच जनाको पहिचान भएको छ । जसमा दुइ शिक्षक पनि छन् ।
तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राति साढे १२ बजेसम्म उद्धार गरिएको थियो । यही बर्षदेखि सञ्चालनमा आएको घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक विद्यार्थी चढेको गाडी दुर्घटनामा परेको हो ।
यही बर्ष सिटिइभिटीको आंगिक कलेजको रुपमा स्थापना भएको यो शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालनमा थियो ।
वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि कपुरकोट गएका थिए ।
अपरान्ह ४ः५० मा दुर्घटना भएको हो ।
गाडी सडकबाट ६ सय मिटर तल खसेको छ ।
दुर्घटनामा जुम्ला जिल्ला तातोपानी गाउँपालिकाकी १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दनाथ गाउँपालिका ३ का १६ वर्षका कुशेन्द्र खत्री, दाङ जिल्ला घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम जिल्ला मंगलसेन नगरपालिकाका १८ वर्षका बिक्रम भण्डारी, रुकुम जिल्ला त्रिबेणी गाउँपालिका–३, का १६ वर्षका प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९, स्युजाकी १७ वर्षीया मेनुका रिजाल घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका–२, का १७ वर्षका जीवन भण्डारी, जुम्ला जिल्ला चन्दनाथ गाउँपालिका ४ कि १६ वर्षीया पर्शा रोकाया, अछाम जिल्ला मंलगसैन नगरपालिकाका १९ वर्षका युवराज ढुंगाना, रुकुम जिल्ला सानोभेरी गाउँपालिका–३, कि १६ वर्षीया रोजिना पुन घाइते रहेको प्रहरीले जनाएको छ ।
जिल्ला दाङ घोराही उपमहानगरपालिका १४ बस्ने १८ वर्षका संजय खनाल, जिल्ला रुकुम अर्मा बस्ने १९ वर्षका राजन डाँगी, जिल्ला अछाम मंगलसैन नगरपालिका ५ बस्ने भद्र बिष्ट, जिल्ला रोल्पा घर भएका १७ वर्षका प्रकाश वली, नामथर वतन नखुलेका १६–१७ वर्षका व्यक्ति घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij