मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बोरिङबाट खानेपानीपछि स्थानीयवासी हर्षित

  • प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५



  • फिदिम, १२ पुस (रासस)  खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ ।

    कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको हो । सो क्षेत्रमा खानेपानी समस्या तत्कालीन रुपमा समाधान गर्ने उद्देश्यले प्रदेश नम्बर नं १ सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट कुम्मायक गाउँपालिका–४ उत्तिसे र वडा नं ५ निगालेमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकाल्ने योजना अघि बढेको हो । निगालेबाट पनि आगामी एक हप्ताभित्र नियमित रुपमा खानेपानी निकाल्न थालिने डिप बोरिङ खानेपानी उपभोक्ता समिति कुम्मायकका अध्यक्ष अमरसिंह थापाले जानकारी दिनुभयो ।

    बोरिङबाट निकालिएको खानेपानी निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाको पाइपलाइनबाट वितरण हुने अध्यक्ष थापाले जानकारी दिनुभयो । जसबाट कुम्मायक गाउँपालिका– १, ४ र ५ का झण्डै दुई हजार ५०० घरपरिवार लाभान्वित हुनेछन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बोरिङ प्रविधिबाट पानी निकालेर वितरण गरी खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न लागिएको बताउनुभयो ।

    खानेपानी समस्या तत्कालीन रुपमा हल गर्ने उद्देश्यले गत हप्ताबाट डिप बोरिङ प्रविधिको परीक्षण शुरु भएको थियो । बिहीबारबाट पानी निकालिए पनि ल्याब परीक्षणपछि मात्रै खानयोग्य हुने उपभोक्ता समितिका सचिव खेम निरौलाले बताउनुभयो ।

    “ल्याब परीक्षणको नतिजापछि मात्रै खानेपानी पिउन उपभोक्तालाई आग्रह गरेका छौँ” निरौलाले भन्नुभयो “तर, खानेपानीको अभावमा रहेका उपभोक्ताले, विहीबारबाट प्रयोग थाल्नुभएको छ ।” कुम्मायक गाउँपालिकाले प्रतिलिटर ६० पैसामा स्थानीयवासीलाई खानेपानी बिक्री गर्दै आएको छ ।

    यसअघि स्थानीय व्यवसायिले प्रतिलिटर दुई रुपैँयामा खाने पानी बिक्री गर्दै आएका थिए । “किनेर खानेपानी पिउँदै आएका उपभोक्ताले आफ्नै घर छेउ स्वच्छ खानेपानी भेटेपछि प्रयोग गर्नबाट रोक्ने कुरा भएन्” निरौलाले भन्नुभयो ।

    डिप बोरिङ प्रविधिबाट पानी निकाल्ने क्रममा केही घण्टा लेदो र खिया सहितको पानी निस्किए पनि केही समय पछिबाट स्वच्छ र सङ्लो पानी निस्किएपछि स्थानीयवासीमा खुशियाली छाएको छ । नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको अभाव छ । यी क्षेत्रमा खानेपानीको अभाव हुँदा बसाइसराइको क्रम उच्च बनेको छ ।

    खानेपानी समस्या समाधान गर्न रु ५१ करोड लागतमा उक्त क्षेत्रमा विगत दुई वर्ष अघिबाट तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ । समयमै उक्त आयोजना सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नु परेपछि प्रदेश नं १ सरकारले समस्याको तत्कालीन समाधानका लागि डिप बोरिङ प्रविधिबाट खानेपानीको व्यवस्था गर्न बजेटको व्यवस्था गरेको उक्त क्षेत्रबाटै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij