मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्युत्मा आत्मनिर्भर बन्दै सङ्खुवासभा

  • प्रकाशित मिति : शनिबार, पुस २१, २०७५



  • सङ्खुवासभा । सङ्खुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर बनेको छ।

    स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ। बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय खाँदबारीका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए।

    सङ्खुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ। जिल्लामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाखोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट तीन मेगावाट र लोवर पिलुवाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ।

    जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए। जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रोहाइड्रो’ सञ्चालन गरी स्थानीयवासीले विद्युत् सेवा लिइरहेका छन्। जिल्लामा उत्पादित विद्युत् छिमेकी जिल्लामा समेत दिइने गरिएको छ।

    जिल्लाको अरुण नदीमा ठूला प्रोजेक्टका रूपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अपर अरुण, अरुण चौँथो र अरुण दोस्रोसमेतको सर्भे भइसकेको छ भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ।

    त्यसैगरी सभाखोलाबाट दिव्यश्वरी हाइड्रोपावरले चार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ। यी दुई आयोजनाले चार किलोवाट उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा आबद्ध भइसकेका छन्।

    निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ। यो आयोजना जिल्लाका तीन क्याम्पस वरुण बहुमुखी, सङ्खुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले २५ वर्षका लागि लिजमा लिएर संयुक्त रूपमा सञ्चालन गरेका हुन्।

    त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रूपमा ऊर्जा शक्ति हाइड्रोपावर सञ्चालनमा रहेका छन्। सङ्खुवासभाका सात स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन। केन्द्रीय प्रसारण लाइन नपुगेका ठाउँमा हाइड्रोपावरबाटै उज्यालो छाएको छ।

    केन्द्रीय प्रसारण लाइनले नछोएको सङ्खुवासभाका धेरै स्थानीय तहका गाउँबस्तीका पेल्ट्रीकसेट, माइक्रोहाइड्रो र हाइड्रोपावरकै भरमा छन्। सङ्खुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिकाभित्रका गाउँबस्ती जहाँसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलिरहेका छन्।

    सङ्खुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ। विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार हाल साँझको समयमा चार मेगावाट खपत भइरहेको छ भने दिउँसो दुई मेगावाट मात्र खपत भइरहेको छ। जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको प्रमुख अधिकारीले बताए।

    जिल्लामा उत्पादित विद्युत् पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ। जिल्लामा चार हाइड्रोपावरका कारणले आत्मनिर्भर भए पनि १० वटै स्थानीय तहमा भने विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij