प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५
काठमाडौं – वीर अस्पतालमा १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन जडान गरिएको छ। मेसिन जडान भएलगत्तै बुधबारदेखि बिरामीलाई सेवा दिन समेत सुरु गरिएको छ।
अस्पतालले उक्त मेसिन ८ करोड ८४ लाखमा ल्याएको हो। सिटी स्क्यान मेसिनको स्लाइस क्षमता जति बढी भयो उति राम्रो रिपोर्ट आँउछ। यसका साथै छिटो पनि हुन्छ।
अस्पतालमा यसअघि १६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन थियो। उक्त मेसिन पनि बिग्रिएको थियो। जसका कारण बिरामीले बाहिर जानु पर्ने बाध्यता थियो। तर, नयाँ उपकरणबाट सेवा सुरु भएसँगै बिरामीले अस्पतालभित्रै सेवा पाउने अवस्था आएको अस्पतालका निमित्त निर्देशक डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
रेडियोलोजी विभागका प्रमुख डा। सरोज शर्माका अनुसार नयाँ सिटी स्क्यान मेसिनको सेवा शुल्क समेत निजीको भन्दा झण्डै तीन गुणा सस्तो रहेको छ। अस्पतालले शरिरको अंगको स्क्यानका आधारमा २ देखि ४ हजारसम्म शुल्क लिने छ।
निजीमा सिटी स्क्यान गर्दा १५ हजारसम्म तिर्नुपर्ने हुन्छ। अस्पतालमा जडान भएको सिटी स्क्यानबाट दैनिक ४० देखि ४५ जनाले सेवा पाउन सक्नेछन्।
सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ। विषेशगरि मतिष्कघात, मतिष्कभित्रका चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा यो मेसिन उपयोगी हुन्छ।
अस्पतालले सिटी स्क्यान ल्याउन खरिद सम्झौता भने ८ वर्षअघि नै गरेको थियो। तर, आर्थिक अभाव, विवाद, मुद्दा लगायतका समस्याका कारण मेसिन खरिदमा ढिलाइ भएको हो। वि।सं। २०६८ मा अस्पतालले उक्त सिटी स्क्यान मेसिन खदिरका लागि नेदरल्यान्डको फिनिक्स कम्पनीसित खरिद सम्झौता गरेको थियो । तत्कालिन समयमा ६४ स्लाइसको मेसिन ल्याउने सम्झौता भएको थियो। तर, अस्पतालको विशेष आग्रहमा हाल १ सय २८ स्लाइसको मेसिन ल्याइएको हो।
सिटी स्क्यान शरीरका विभिन्न अंगहरूको जाँच गर्ने एउटा प्रक्रिया हो। यसको पूरा नाम कम्प्युटराइज्ड टोमोग्राफी स्क्यान अथवा कम्प्युटेड एक्सिअल टोमोग्राफी हो। यो जाँच सामान्य एक्स–रे जस्तै हुन्छ तर एक्स–रे को तुलनामा सिटी स्क्यान धेरै नै आधुनिक हो र यसले एक्स–रे भन्दा बढी जानकारी दिन्छ।
साभार : स्वास्थ्य खबरपत्रिका बाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij