आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कम्प्युटर र स्मार्टफोनबाट एक घण्टा टाढा हुँदा के फाइदा हुन्छ ?

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • काठमाडौं । अघिल्लो महिना एप्पलले स्क्रिन टाइम फिचर लञ्च गर्यो । यसबाट प्रयोगकर्ताले आफ्नो फोन वा ट्याबमा कति समयसम्म बिताएको छु भन्ने कुरा थाहा पाउन सक्दछन् ।

    यदि तपाईंले उक्त फिचर प्रयोग गर्नुभएको छैन भने प्रयोग गर्दा राम्रो हुन्छ । अफिसको कम्प्युटर, व्यक्तिगत कम्प्युटर वा फोनमा स्क्रिन टाइम चेक गर्नुस् त तपाईंले दिनमा कतिधेरै समय ग्याजेटको स्क्रिनमा हेरेर बिताउनुहुँदो रहेछ भन्ने थाहा हुन्छ ।

    हामी धेरैले घर तथा कार्यालयमा कम्प्युटर, ट्याबलेट र स्मार्टफोनमा यतिधेरै समय बिताउछौँ कि त्यो कल्पना पनि गर्न सकिँदैन ।

    अफिसमा इमेल, नोटिफिकेसन, इन्टरनल मेसेजिङ सिस्टम तथा इन्टरनेट सबै मिलाउँदा हामीले हाम्रो समयको धेरै ठूलो हिस्सा खर्चिरहेको पाउँछौँ ।

    यस्तोखाले प्रविधिले हाम्रो उत्पादकत्व घटाउँछ । छोटो समयका लागि भएपनि यी सबैबाट टाढा रहँदा, भलै एक घण्टाकै लागि किन नहोस्, त्यसले हामीलाई ठूलो फाइदा पुग्दछ ।

    प्रविधिबाट टाढा

    अनुसन्धानले यो सावित गरेको छ कि प्रविधितर्फ अत्यधिक झुकावले मानिसको स्वास्थ्य, खुसी तथा उत्पादकत्वमा नकारात्मक असर पार्दछ ।

    लगातार स्क्रिनमा हेरिरहँदा आँखाको स्वास्थ्यमा असर पर्दछ । चौबिसै घण्टा मोबाइलबाट मेसेज गरिरहने बानीले तनाव तथा डिप्रेसन बढाउँदछ ।

    इन्टरनेटले हाम्रो लगाव तथा लतको दोहन गर्दछ । सन् २०१२ मा अमेरिकी शोधकर्ताले इमेललाई एक्काइशौँ शताब्दीको कार्यालयहरुको सबैभन्दा घातक प्रविधि विचलन हो भनी बताएका थिए ।
    उनीहरुले शोधका क्रममा कर्मचारीहरुको मुटुको चाल मापन गर्नका लागि मनिटर लगाए । त्यसक्रममा लगातार इमेल चेक गरिरहने वा कम्प्युटरमा लगातार इन्टरनेट ब्राउजिङ गरिरहने कर्मचारीहरुको मुटेको गति तथा तनावको मात्रा बढी रहेको देखियो ।

    यद्यपि अहिलेको सूचना प्रविधिको युगमा प्रविधिलाई पूर्ण रुपमा हटाउन सकिँदैन । अफिसमा इमेल चेक नगर्ने हो भने काम चल्दैन ।

    विज्ञहरुका अनुसार सोसल मिडियामा सम्बन्ध तोड्नु भनेको एक किसिमले दुनियाको जिम्मेवारीबाट भाग्नु हो । त्यसैले सोसल मिडिया वा इन्टरनेटबाट अलग्गिएर दुनियाको जिम्मेवारीबाट भाग्नुको साटो हामीले केही समय निकाल्न सक्दछौँ, जसमा प्रविधिको प्रयोगबाट आराम लिने ।

    तर प्रविधिबाट एक घण्टा टाढा हुनु भनेको कतै लुक्न जानु होइन । यसको अर्थ कामकुरो छाडेर खुरुक्क योगकक्षमा छिर्नु र कसैसँग नबोल्नु पनि होइन । अनि आफ्नो फोन दराजमा बन्द गरेर राख्नु पनि होइन । यसको उद्देश्य भनेको प्राविधिक उपकरण तथा एप्लिकेसन बीचको मल्टी टास्कको हाम्रो कोसिसलाई रोक्नु हो ।

    अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक मेटिस हलवेगका अनुसार जब हामी एउटा कामबाट अर्को काममा ध्यान दौडाउँछौँ तब हामीले सेटअप टाइमलाई गुमाउँछौँ । यसले उत्पादकत्व घटाउँदछ । छोटो समयका लागि टेक्नोलोजीबाट टाढा नरहीकन यो चक्रलाई तोड्न कठीन छ ।

    हाम्रो दिमागले तुरुन्तै सन्तुष्टि चाहन्छ र यसका लागि हामीले हरेक १० मिनेटमा ह्वाट्सएप, फेसबुक वा इमेल चेक गर्दछौँ । दुर्भाग्य नै भन्नुपर्दछ यस्तो बानी हामीले गर्ने उत्पादनशील कार्यका लागि हानिकारक हुन्छ ।

    कसरी गर्ने ?

    राम्रो कुरा के छ भने वैज्ञानिकहरु तपाईं हाम्रो सहयोगका लागि तयार छन् । हरेक दिन कामका बीचमा एक घण्टाको समय निकाल्ने र त्यसमा प्रविधिबाट टाढा रहनु वास्तवमा हाम्रो स्मार्ट योजनाबाट मात्र सम्भव हुन्छ । विज्ञहरुका अनुसार हामीले दिनमा कुनै निश्चित समयमा मात्र आफ्ना इमेल चेक गर्नु उपयुक्त हुन्छ । दिनमा दुई वा तिनपटक सम्म इमेल चेक गर्नका लागि समय छुट्टाउन सकिन्छ ।

    सोसल मिडिया तथा स्मार्टफोनका विभिन्न फंक्सनका लागि पनि यही रणनीति अपनाउन सकिन्छ । तपाईंले प्रविधि तथा उपकरणबाट टाढिने समयका लागि पनि योजना बनाउन सक्नुहुन्छ ।

    समयको तालिका बनाउने, फोन चलाउन छाड्ने र बाहिर घुम्न जाने । मौसम खराब छ भने आफूले काम गर्ने ठाउँबाट कम्तिमा बाहिर आएर केहीबेर हिँड्ने, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्ने र आनन्दसाथ लञ्च गर्ने ।

    समस्या प्रविधिमा होइन

    सबै कामका लागि कप्युटरको अगाडि बसिरहन तथा स्मार्टफोनमा टाँसिइरहन आवश्यक हुँदैन । मान्छे हरेक समय अनलाइनमा रहने कुरा पनि हुँदैन । यसका अलावा अधिक निद्रा लिन वा दिनमा एक घण्टा अतिरिक्त समय निकाल्नु वास्तवमा ती ठूला समस्याहरुको समाधान होइन जो हाम्रा खराब बानीव्यहोराको जडमा रहन्छन् । अचानक सोसल मिडिया वा ग्याजेटबाट टाढिएर सम्पर्कविहीन हुने कुराले फाइदा भन्दा धेरै बेफाइदा नै गर्दछ ।

    क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताका अनुसार जसरी चुरोट पिउने लत भएको मानिसलाई केही समयका लागि एक्कासी चुरोटबाट टाढा बनाउँदा उसमा तनाव बढ्दछ त्यसैगरी मानिसको काममा प्रविधिको प्रभावलाई समाप्त पार्नु वा निकै कम बनाउनु पनि पूर्णरुपमा अव्यवहारिक हुन्छ ।

    आफ्ना कर्मचारीलाई प्रविधिको गुलाम बन्न नदिनु वास्तवमा कम्पनीहरुको दायित्व नै रहने शोधकर्ता बताउँछन् । यसका लागि व्यवस्थापनले कर्मचारीका लागि इमेल चेक गर्ने निश्चित समय तोक्न सक्दछ । कर्मचारीलाई आफूसँग सम्बन्ध नहुने खालका इमेल समेत पठाएर तत्कालै जवाफ माग गर्दा त्यसले कर्मचारीको काममा बाधा उत्पन्न गर्दछ ।

    सन् २०१७ मा फ्रान्समा यस्तो कानून नै बनेको थियो । जस अनुसार कुनैपनि कर्मचारीले अफिस टाइम सकिएपछि आफ्नो इमेल चेक गर्न बाध्य छैनन् ।

    अमेरिकाको न्युयोर्क सिटीले पनि गत वर्ष यस्तै खाले कानून बनायो । गाडी निर्माता कम्पनी फोक्सवागनले सन् २०१२ बाटै कर्मचारीहरुलाई असमयमा इमेल पठाउन बन्द गरेको थियो ।

    यद्यपि हामीलाई अहिले प्रविधिबाट टाढा भाग्नु सम्भव छैन । तर दिनमा कम्तिमा एक घण्टाका लागि यसबाट छुट्टँिदा हाम्रो स्वास्थ्य तथा कार्यक्षमतामा पर्ने सकारात्मक प्रभावलाई कम नआँकौँ ।

    स्मार्ट तालिका बनाएर वा डिजिटल टूल्सलाई फरक ढंगले प्रयोग गरेर हामीले अतिरिक्त समय निकाल्न सक्दछौँ ।

    यदि यसो गर्न सकेनौँ भने प्रविधिले हाम्रो लागि समस्या खडा गरिदिनेछन् । विज्ञ भन्छन्, ‘तपाईं काम गरेर त्यति थाक्नुहुन्छ जति आफ्नो ध्यानलाई पटक पटक भड्काउँदा तपाईंको दिमाग थाकेको हुन्छ ।’

    –बीबीसी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij