प्रकाशित मिति : सोमवार, माघ ७, २०७५
सङ्खुवासभा। राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ।
आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ। उक्त आयोजनामा नेपाली र भारतीय गरी दुई हजार ६५ कामदारले काम गर्दै आएका छन्।
आयोजना निर्माणको जिम्मा पाएको भारतको सतलज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माका अनुसार अहिलेसम्म तीन सय ५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ।
“आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ, अब निर्माण सामग्री ढुवानीमा सहज हुनेछ,” उनले भने। आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको शर्माले बताए।
नौ सय मेगावाट क्षमताको उक्त परियोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। आयोजना निर्माणका लागि रु एक खर्ब २० अर्ब खर्च हुने अनुमान गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij