प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५
लमजुङ — करिब २ सातादेखि हिमपात रोकिए पनि हिउँ पन्छाउन नसक्दा स्थानीयको जनजीवन अझै कष्टकर छ । हिमपातले गएको पहिरो, खसालेको ढुंगा, ढालेको रूख पन्छाउन नसक्दा मनाङमा खाद्यान्न आपूर्ति २ सातायता ठप्प छ ।
मनाङको चामेस्थित सरकारी कार्यालयबाट बजारतर्फ आउने बाटोको हिउँ हटाउँदै सशस्त्र प्रहरीलगायत । तस्बिर : कान्तिपुर
अघिल्लो मंगलबारदेखि हिउँ पर्न थालेको मनाङमा त्यसयता सवारी आवागमन ठप्प भएको हो । हिमपात भइरहेको समय दानाक्यु, धारापानीसम्म बेंसीसहरदेखि सवारीसाधन चलेकोमा आइतबार मुस्किलले एउटा जिप तिमाङ पुगेको थियो ।
तिमाङ र थान्चोकबीचको स्याक्र्यु खोला नजिकै हिमपातले ठूलो ढुंगा पल्टाएर बाटो अवरुद्ध बनाएको छ । माथिल्लो क्षेत्रका कुनै पनि ठाउँमा सवारीसाधन चल्ने अवस्था नरहेको स्थानीयको भनाइ छ । कतिपय ठाउँमा हिँड्न मिल्ने बाटोसमेत छैन । गाडी नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दाले सास्ती खेप्नुपरेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका ४, मनाङ गाउँस्थित होटल सञ्चालक छिरिङ लोप्साङ गुरुङले यसअघिका मौज्दात खाद्यान्न उपभोग गर्दै आएको बताए । ‘हिउँ पर्न रोकियो । पग्लन बाँकी छ । दिनमा १०/१२ जना पर्यटक आउने गर्छन् । उनीहरूले चाहेजस्तो पुर्याउन सकिएको छैन । सामान ल्याउन पाइएन,’ उनले भने । मानिस जसोतसो हिँडेर आए पनि सवारीसाधन आउन नसकेको उनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार मानिस बाध्यताले हिँड्नुपरेको छ । ‘चामेदेखि मनाङसम्म सवारीसाधनमा साढे २ घण्टामा आउनेहरू अहिले २ दिन हिँड्न बाध्य छन् ।
मानिस हिँड्नै गाह्रो छ । कसरी सामान ल्याउने, केले ल्याउने ?’ बाटो तथा गोरेटोको हिउँ अझै पग्लिएको छैन । चामेकी बिनु गुरुङका अनुसार हिउँदका लागि खाद्यान्न ल्याएर नराखेको भए भोकै बस्नुपर्ने स्थिति आउन सक्थ्यो । बजारमा भने खाद्यान्न पाउन छाडेको छ । ‘हिउँले बाटो रोकियो । अहिलेसम्म खुलेको छैन । तिमाङबाट यता गाडी आएको छैन,’ उनले भनिन् ।
पहिले ग्रिनहाउस (प्लास्टिक टनेल) बनाएर गरिएको खेतीले हरिया सागपात खाने गरिएकामा ती सबै हिमपातले भत्काएको उनले सुनाइन् । ‘ग्रिनहाउसकै हरिया तरकारी खान्थ्यौं । नभए बेंसीसहरबाट ल्याउँथ्यौं । २ साता भयो हरियो तरकारी नदेखेको,’ उनले भनिन् ।
मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्मका डीएसपी नीलकमल आचार्यका अनुसार चामेदेखि तिमाङसम्मका सडक पूरै हिउँले ढाकेको र यसबीचमा २ जिप अलपत्र परेको बताए । ‘हिँड्न सक्ने अवस्था छैन । सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था छैन । २/४ दिन मज्जैले घाम लाग्यो भने केही सहज हुन सक्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार सडक कार्यालय दमौलीको सहयोगमा स्याक्र्यु खोलाको ढुंगा फुटाएर पहिरो हटाउने तयारी गरिएको छ । तर दमौलीबाट आएका इन्जिनियर तत्काल हटाउन नसक्ने भन्दै फर्किएको उनले बताए ।
हिमपात हटाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिए पनि सकिएको छैन । ‘हिउँ अझै कति छ कति । सडकको हिउँ फाल्न सकिँदैन । कार्यालय क्षेत्रबाट चामे बजारसम्म हिउँ फालेर बाटो बनाएका छौं,’उनले भने ।
उनले मनाङमा खाद्यान्न ढुवानी रोकिए पनि अभाव नभएको बताए । ‘तल्लो क्षेत्रसम्म गाडीमा ल्याए पनि केहीले भने बोकेरै सामान ल्याउने गरेका छन् ।गाडीबाट भने ल्याउन सकिएको छैन । गाडी नचल्दा ढुवानी रोकिएको हो,’ उनले भने ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij