प्रकाशित मिति : आइतवार, माघ २७, २०७५
सामान्यत: एउटै वर्गको खानामा हामीलाई चाहिने सबै प्रकारका पौष्टिक तत्त्व पर्याप्त मात्रामा हुँदैनन्। सन्तुलित भोजनका लागि कम्तीमा दिनहुँ ४ खाद्य समूह समावेश हुनै पर्छ। ती चार समूह हुन् :
अन्न/कन्दमूल समूह, गेडागुडी समूह, फलफूल/तकारी समूह र पशुपक्षीजन्य
खाद्य समूह।
अन्न समूहमा चामल, गहुँ, मकै, कोदो, फापर आदि पर्छन्। आलु, सख्खरखण्ड, तरुल, पिडालु आदि कन्दमूल हुन्। गेडागुडी समूहमा दालहरू, चना, भटमास, सिमी, केराउ, तिल, फर्सीका बियाँ आदि पर्छन्। मेवा, पाकेको आँप, हरियो सागपात, पाकेको फर्सी, गाजर, सख्खरखण्ड, खरबुजा, कटहर, सिस्नु, कर्कलो, मुलाको साग, गोलभेडा, सुन्तला, कागती, अमला, केरा, बन्दाकोबी, भन्टा आदि फलफूल र तरकारी समूहका खाद्य हुन्। पशुपंक्षीजन्य खाद्य समूहमा दूध, दुग्ध उत्पादन, अण्डा, माछा, मासु आदि पर्छन्।
बाल स्वास्थ्य महाशाखाअन्तर्गत पोषण विभागका प्रमुख एवं वरिष्ठ पोषणविद् राजकुमार पोखरेलका अनुसार हरेक दिन खाना खाँदा यी ४ समूहको सूत्र उपयोग गर्नुपर्छ। ‘चारै खाद्य समूहबाट मिलाएर सन्तुलित रूपमा दिनहुँ कम्तीमा ४ पटक खान उहाँको सुझाव छ।
करेसाबारीमा पाइने विभिन्न साग, सब्जी, हाम्रो गाउँघरमा हाम्रै चारैतिर पाइने आलु, सख्रखण्ड, पिडालु, तरुल इत्यादि अत्यन्त पोषक तत्त्वयुक्त खाद्यपदार्थ हुन्।
हामी भातलाई बढी महत्त्व दिन्छौं। तर गहुँ, फापर, जौ, कोदो आदिको दाँजोमा चामलमा पोषक तत्त्व कम हुन्छ। अत्यन्त फाइदाकारी, उच्च पोषक तत्त्वयुक्त कोदो अचेल हाम्रो गाउँघरमा खानै छोडिएको छ। पोषणविद् पोखरेल भन्नुहुन्छ, ‘मकै, गहँु, कोदो, फापर, जौ, भटमास आदि मिसाएर पिठो बनाएर खानुस्, यसको पौष्टिकता र फाइदाको तुलना नै छैन।
अधिकांश बालबालिका खाजामा एक प्याकेट चाउचाउ वोकेर जान रुचाउँछन्। तर यस्ता जंक फुड स्वास्थ्यका लागि राम्रो हुन्न। यस्ता प्याकेटमा भएका खाद्यपदार्थमा पोषक गुणको कमी हुन्छ,’ पोखरेल भन्नुहुन्छ, ‘बरु परम्परागत रूपमा खाजामा खाइने च्युरा, गेडागुडी, सागपात, अण्डा आदिमा पोषक गुण धेरै हुन्छ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij