प्रकाशित मिति : सोमवार, फाल्गुन ६, २०७५
पछिल्लो समय खासगरी केही निजि संस्थाहरुमा लचिलो कार्यालय समय अवलम्बन तथा सिफ्टमा कर्मचारी खटाउने व्यवस्थापनको अभ्यास बढ्दै गएको छ। यसो गर्दा कार्यालयको कार्यसम्पादनमा सकारात्मक नतिजा आएपनि काम गर्ने कर्मचारीमा भने यसले केही हदसम्म असर पूराउने देखिएको छ।
एक अनुसन्धानले खासै जनसम्पर्क नहुने तथा सँगीसाथीसँग घुलमेल समेत हुन नपाइने र एक्लै काम गर्नुपर्ने, जस्तै रातको सिफ्टमा काम गर्नुपर्ने मानिसहरुको दिमाग भुत्ते बन्दै जाने र मानिस पनि छिटै बुढो देखिने तथ्य पत्ता लगाएको छ।
झण्डै एक दशकसम्म रात्रीकालीन लगायतका ‘असामाजिक सिफ्ट’मा काम गर्दा मानिसको मस्तिष्क ६ वर्षले बुढो हुने अकुपेसनल एण्ड इन्भारोमेन्टल मेडिसिन जर्नलमा छापिएको सोधमा उल्लेख गरिएको छ । तथापि यसरी असमाजिक सिफ्टमा काम गर्दा दिमागमा परेको असर त्यस्तो समयमा काम गर्न छाड्दा विस्तारै हट्ने भएपनि पहिलेकै अवस्थामा आउन भने ५ वर्ष लाग्ने शोधकर्ताको भनाइ छ।
यसो हुनुको मुख्य कारण मानव सरीरको जैविक घडी हो । मानव सरीरको जैविक घडी हामीलाई दिनमा सक्रिय हुने तथा रातमा सुत्ने गरी डिजाइन गरिएको हुन्छ । रातको सुत्ने समयमा सक्रिय हुनु वा काम गर्नु भनेको जैविक घडीको उल्लंघन हो, जसले सरीरमा हानिकारक असर पूराउँछ। यसअघिका अध्ययनले पनि रात्रीकालीन सिफ्टमा काम गर्ने कर्मचारीमा स्तन क्यान्सर तथा मोटोपना जस्ता रोगको जोखिम हुने देखाएको थियो।
रात्रीकालीन सिफ्टको काम गराइले मानव मस्तिष्कमा पार्ने असरका विषयमा बेलायतको स्वान्सी विश्वविद्यालय तथा फ्रान्सको टोलुस विश्वविद्यालयका शोधकर्ताले संयुक्त रुपमा अध्ययन गरेका थिए।
उमेर छिप्पिँदै जाँदा मस्तिष्कको क्षमतामा प्राकृतिक रुपमै गिरावट आउने भएपनि रातको समयमा काम गर्दा यस्तो क्षयिकरणको दर झनै तिब्र बन्ने शोधकर्ताहरुको ठहर छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij