प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५
कास्की । पर्यटन मन्त्रीको अकल्पनीय निधनले उनको जन्मगाउँ शोकमा डुबेको छ । पोखरा ३३, भरतपोखरी, जामुनेबोटस्थित उनको गाउँमा आफन्तजन तथा गाउँलेको रुवावासी चलेको हो । जो देखिए पनि कसैको आँखा ओभाना
छैनन् । सबैका रसाएका छन् ।
छिमेकीलाई सान्त्वना दिन उपस्थित भएकाहरु नै भावविह्वल बनेर विकासप्रेमी नेता मन्त्री अधिकारी सम्झिदै भक्कानिएर रुँदै छन् ।
भरतपोखरीको जामुनाबोटमा २०२६ बैशाख २२ मा जन्म लिएका छरितो बानीब्यहोराका रवीन्द्रलाई राजनीतिमा डो¥यायोे ।
आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाऊँकै शान्ति उदय मावि विद्यालयबाट पूरा गरेका थिए । उनी सानै उमेरदेखि जिज्ञासु तार्किक र चनाखो स्वाभावका रहेका अधिकारीलाई पढाएका शिक्षक रवीन्द्रनाथ आचार्य सम्झन्छन् ।
समृद्धिको मार्गप्रशस्त गरेका हँसिलो स्वभाव, रिसाउन नजान्ने, अनुशासित र ठूलालाई कदर गर्ने मन्त्री अधिकारीको सानैदेखिको बानी रहने उनले सम्झे ।
सारा गाउँ शून्य भएको रोएको छ, टुहुरो बनाएको छ र उनले परिकल्पना गरेका विचारलाई राज्यले सधैँ सम्मान गरोस् भन्ने चाहना रहेको छिमेकी विष्णुमाया आचार्य पछैयोरीले आँखा पुछ्दै बताइन् ।
गाउँका ८८ वर्षे वयोवृद्धा केशव आचार्य बलिन्द्र आँसुका धारा बगाउँदै छन् । उनी बोल्न नि सक्दैनन् । उनले यत्ति भने, दैवले हर्यो बाबुलाई ।
पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको इकाइ सभापतिदेखि पर्यटन मन्त्रीसम्म बनेका मन्त्री अधिकारी एक प्रतिबद्ध विकासप्रेमी युवा नेता थिए ।
सानैदेखि राजनीतिक गतिविधिमा रुची राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरुमा संलग्न भए । २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुँदै २०५६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए । उनी पटक पटक गरी ६ महिना जेल बसेका थिए ।
२०६४, २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका अधिकारी कास्कीबाट लगातार ३ पटकसम्म संसदीय निर्वाचन जित्ने एकमात्र नेता थिए ।
यसैबीच, मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री लगायत मन्त्रीहरुले उनको परिवारका सदस्यलाई विहीबार भेटेका छन् ।
पोखरा ५ मालेपाटनस्थित मन्त्री अधिकारीको निवासमा पुगेर मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ लगायत प्रदेशका सबैजना मन्त्रीहरुले अधिकारीका बाबुआमा तथा सदस्यहरुलाई भेटी सान्त्वना दिए ।
छोराको निधनको खबरले शोकाकूल बाबु इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीलाई हिजो दिउँसो प्लेनमार्फत काठमाडौं लगिएको थियो।
मन्त्री अधिकारीको गृहजिल्लामै राजकीय सम्मानका साथ अन्त्येष्टि हुने सरकारको निर्णयपछि काठमाडौं पुगेका अधिकारीका बाबुआमासहित परिवारका १२ जना सदस्य विहीवार दिउँसो पोखरा आएका हुन्।
मन्त्री अधिकारीका १० वर्षे कान्छाछोरा लगायत अन्य भाइरु पोखरा आइपुगिसकेका छन् । श्रीमती विद्या भट्टराई र जेठा छोरा शुक्रबारमात्र आइपुग्ने परिवारजनले जनाएको छ ।
मन्त्री अधिकारीको पार्थीव शरीर शुक्रबार पोखरा ल्याई दिउँसो १ बजेदेखि पोखरा नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा सम्मान तथा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने प्रदेश सरकारले तयारी गरेको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले राष्ट्रिय सम्मान दिने स्थान निर्माण गरेको छ ।
श्रद्धाञ्जलीपछि शव नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटमा पुगेर राजकीय सम्मानका साथ अन्येष्टि गरिने गण्डकी प्रदेशको विहीवार सम्पन्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले समेत संघीय सरकारका पर्यटन मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ हुने अन्त्येष्टिमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।
अधिकारीको निधनको खबरले पोखरा स्तब्ध भएको छ । सरकारले सार्वजनिक बिदा घोषणा गरेकोले पनि होला विहीवार सुनसान रह्यो । हरेक टोल टोलमामन्त्रि अधिकारीकै चर्चा चलिरहेकै छ । सामाजिक सञ्जालमा मन्त्रि अधिकारीका फोटाहालेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij